एनआरएनए एकताको अन्तिम तयारीमा छौँ : महेशकुमार श्रेष्ठ
काठमाडौं । सर्वोच्च अदालतको परमादेश अनुसार आयोजित एकता महाधिवेशनबाट निर्वाचित गैर आवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्ष महेशकुमार श्रेष्ठले एनआरएनए एकताका लागि अन्तिम प्रयास भइरहेको बताएका छन् ।
एनआरएनए डेका अवसरमा बन्द्री केसी समूहसँग एकताको प्रयासका लागि पटक पटक प्रयास भए पनि असफल भएको उनले बताए । तर एकताको प्रयास नजिक पुगिसकेको उनको दाबी छ ।
‘एनआरएनएका डे का दिन एकताको घोषणा गर्नका लागि अभ्यासहरू भएका थिए । तर कसरी आ–आफ्नो अस्तित्व स्वीकार गरेर अघि बढ्ने, कसरी स्वामित्व ग्रहण गर्ने र कुन मोडालिटीमा एकता गर्ने भन्ने विषयमा अझै निष्कर्ष निस्किएको छैन् । हामी एकताको अन्तिम तयारी गरिरहेका छौँ,’ नेपाल न्यूज बैंकसँगको कुराकानीमा उनले भने ।
श्रेष्ठले केही एजेन्डामा कुरा नमिलेकाले एकता घोषणा गर्न नसकेको उनले बताए । सरकारका तर्फबाट पनि परराष्ट्र मन्त्रालयले सहजीकरण गरेर एकताको प्रयास भइरहेको उनले बताए ।
एनआरएनएको बद्री केसी समूहले दाबी गरेको आफ्नो कार्यकाल बुधबार, २८ असोज (अक्टोबर १४, २०२५) देखि सकिएको छ । कार्यालय सकिएपछि केसी पक्षले पनि सकारात्मक रुपमा एकताको प्रयास गरिरहेको बताइन्छ ।
सर्वोच्च अदालतको परमादेशबाट गठित एनआरएनए उच्चस्तरीय समितिले गत मे ३–४ मा काठमाडौंमा आयोजना गरेको एकताको महाधिवेशनबाट निर्वाचित श्रेष्ठ नेतृत्वको वैधानिक कार्यसमितिलाई सचिवालयमा प्रवेश दिएको छैन् ।
सर्वोच्चको दोस्रो फैसलालाई हवाला दिँदै केसी पक्षले आफूहरूको कार्यकाल अक्टोबर १४, २०२५ सम्म भएको दाबी गर्दै आएको थियो।
















