नेपालले वेस्ट इन्डिजलाई फेरि हरायो, जित्यो सिरिज

Getting your Trinity Audio player ready...
|
ल्यानक्यास्टर, पेन्सिल्भेनिया/ नेपालले वेस्ट इन्डिजविरुद्धको दोस्रो टी-२० खेल पनि जितेको छ। युएइको शारजाहमा सोमबार भएको खेलमा नेपालले दुई पटकको विश्व विजेता वेस्ट इन्डिजलाई ९० रनले हरायो।
लगातार दोस्रो जित सँगै नेपालले सिरिज पनि जितेको छ।
नेपालले दिएको एक सय ७४ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिज १७ ओभर एक बलमा सबै विकेट खर्चँदा मात्र ८३ रनमा समेटियो। नेपालका आदिल अन्सारी र कुशल भुर्तेलले वेष्ट इन्डिजका ब्याट्सम्यानलाई टिक्न दिएनन्।
आदिल अन्सारीले चार विकेट लिए । यस्तै कुशल भुर्तेलले तीन, दीपेन्द्र सिंह ऐरी एक , करण केसी एक र ललित राजवंशीले एक विकेट लिएका छन्।
त्यस अगाडि नेपालले ६ विकेट खर्चेर एक सय ७३ रन बनाएको थियो।
नेपालका लागि आशिफ शेख र सन्दीप जोरा जमेर ब्याटिङ गरे । शेखले ६८ रन र जोराले ६३ रनको योगदान दिए।
ओपनर कुशल भुर्तेल दुई र कप्तान रोहित पौडेलले तीन रन मात्र जोडेको पारीमा कुशल मल्लले सात रन, गुल्शन झाले ६ रन र मोहम्मद आदिल आलमले ११ रन बनाए थिए।
यसअघि शनिबार भएको खेलमा पनि नेपालले वेस्ट इन्डिजलाई १९ रनले पराजित गरेको थियो। नेपालले टेष्ट मान्यता प्राप्त तथा पूर्व विश्वकप विजेतालाई हराएको त्यो पहिलो अवसर थियो।
वेस्ट इन्डिज दुई पटक टी-२० विश्वकप विजेता रहिसकेको राष्ट्र हो।
वेस्ट इन्डिजविरुद्धको अन्तिम खेल मंगलबार शारजाहमा हुनेछ। उक्त खेल पछि नेपालको टोली विश्वकप छनोट खेल्न ओमान जानेछ। ओमानमा सुरुमा नेपालले समूह चरणमा कुवेत र जापानसँग खेल्नेछ। यो समूहबाट शीर्ष दुईमा परे सुपर-६ मा पुग्नेछ।
सुपर-६ मा खेल्ने ६ टोलीमध्ये शीर्ष ३ मा पर्न सके नेपालले अर्को वर्ष भारत र श्रीलङ्कामा हुने टी-२० विश्वकपमा स्थान बनाउनेछ।
ओमानमा तीन समूह नौ टोलीबिच प्रतिस्पर्धा हुनेछ। अरू समूहमा मलेसिया, कतार र युएई तथा ओमान, पिएनजी सामोआ छन्।
तीन समूहका शीर्ष २-२ टोली गरी सुपर-६ मा पुग्ने कुल ६ टोलीमध्ये शीर्ष ३ टोली भएमा नेपाल लगातार दोस्रो पटक र समग्रमा तेस्रो पटक टी-२० विश्वकपमा छनोट हुनेछ।