मैँले पार्टी छाडेको हुँ तर परिवर्तनको एजेन्डा छाडेको छैन : सुमना श्रेष्ठ
|
Getting your Trinity Audio player ready...
|
काठमाडौं । पूर्व शिक्षा मन्त्री सुमना श्रेष्ठले आफूले राष्ट्रिय स्वतन्त्र पार्टी छाडे पनि परिवर्तनको एजेन्डा नछाडेको बताएकी छन् ।
आइतबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत आफूले राष्ट्रिय स्वतन्त्र पार्टी परित्याग गरेको घोषणा गरे लगत्तै दिउँसो फेरी फेसबुक लाइभमा आएर यस्तो बताएकी हुन् ।
आफ्ना शुभचिन्तकहरूले आफूलाई दिएको साथ सहयोगका लागि धन्यवाद दिँदै उनले भनिन,‘मलाई धेरै जनाले आज किन पार्टी छाडेको ? यस्तो गर्नु हुँदैन थियो भनिरहेका छन् । मैँले आजसम्म उक्त पार्टी भित्र रहेर जति काम गर्न सकेँ त्यो तपाईँहरू सबैको साथले भएको हो । मैँले पार्टी छाडेको हुँ तर, पार्टीभित्र मैँले जुन एजेन्डा बोकेर गएकी थिएँ, त्यो एजेन्डा त कहिल्यै छाडेको छैन ।’
परिवर्तनको एजेन्डा बोकेका जेनजी युवापुस्तालाई सबैले साथ दिनुपर्ने उनको जोड छ । यति बेला जेनजी पुस्तालाई बदनाम गर्नेहरू अग्रसर भएको बताउँदै उनले त्यस्तो नगर्न र उनीहरूलाई सबैले साथ दिनुपर्ने बताएकी छन् । आफूले पार्टी भित्र गर्न नसकेको काम अब, बाहिर आएर गर्न लागेको उनको दाबी छ ।
आफूले मन्त्री पद्मा जानका लागि पार्टी छाडेको नभई जेनजी पुस्ताका भाइबहिनीलाई साथ दिनका लागि पार्टी छाडेको दाबी उनले गरेकी छन् ।
भिडियोको अन्त्यमा भावुक हुँदै उनले भनेकी छन्,‘हामी सबैले चाहेको परिवर्तन हो । कुनै पार्टीभित्र बसेर जेनजीको क्रान्तिलाई बिथोल्न हुँदैन । कुनै दल नसोच्नुस् यति बेला सबैले नेपाल बनाउन लाग्नुस् ।’








