नाटक :- कथा भुटानको

Getting your Trinity Audio player ready...
|
नाटककार गण्डकी पुत्र
पात्रहरु :-
१. बडा , गाउँको पाको मानिस
२. पुरुष , बिस्नुको बाउ
३. महिला , बिस्नु कि आमा
४. बिस्नु , युवक
५. मिना , बिस्नुकी साथी
६. कार्की , गाँउको किसान
७. रुद्रमणी , क्रान्तिकारी युवक
८. श्याम , युवक
९. हरि , रुद्रमणीको साथी
१०.राई कान्छा , गाउँले
११. दिलमाया शिक्षित युवती
१२. सेना
१३. मन्त्री
१४.राजा
१५. चमेली गाउँले युवती
सुत्रधार :- यो कथा हो भुटानको ।
भुटानमा बसोबास गर्ने सबै मानिस त्यो देशका नागरिक थिए । श्रम र शक्ति खर्चिएर बर्षौदेखी उनीहरुले यो धर्तिलाई उर्बर बनाएका थिए । यहाँ बसोबास गर्ने हरेक जातीको आफ्नै चाडपर्ब थिए । आफ्नै रिति र संस्कृती थिए । उनीहरुको आफ्नै भाषा थियो । आफ्नै देवता र देबिथान थिए । राजा निरङ्कुस र श्वेच्छाचारी हुँदै गए । जन अधिकार खोसिदै गए । जनताले निस्सासिएको महसुस गरे र प्रजातन्त्रको थोरै उज्यालो खोज्न थाले । जताततै प्रजातन्त्रको स्वर गुन्जन थाले ।
तर प्रजातन्त्रको सुनौलो दिन देख्ने आखाहरुमा बारुदको धुलो खन्याइयो ।यहि प्रजातान्त्रिक आन्दोलनलाई बहाना बनाएर , अधिकांस नेपाली जाती माथी , नेपाली जातीको अस्तित्वमाथी हमला गर्ने शृङ्खला सुरु भयो । उनीहरुको भाषा खोसियो ।
उनीहरुको पहिरन खोसियो , संस्कृती खोसियो तर पनि दृढ र प्रतिबद्ध भएर नेपाली जाती भुटानमा संम्बृद्धिको सपना देख्दै थिए र आफ्नो कर्ममा समर्पित थिए । यति हुदाहुदै पनि सहेर बसेका नेपाली जाती माथी फेरि पनि शासकका तर्फबाट बन्दुक ताक्न थालियो , घर जलाउन थालियो र उनीहरु लाई देश छोड्न बाध्य पारियो । त्यही घटनालाई आधार बनाएर यो नाटक तयार गरिएको छ । बाकी कथा नाटकले आफैं भन्ने छ ।
प्रस्तुत छ नाटक । कथा भुटानको ।
पहिलो दृष्य :-
( एउटा रुखको फेदमा ढुङ्गामा अबिर ध्वजा , दुई बुडाहरु हास्तै मञ्चमा देखिन्छन )
कान्छा :- हौ अहिलेका केटा के भएका भनेको पटक्कै मान्दैनन ।
बडा :- तिमी पनि त्यस्तै थियौ कान्छा । साम्ची बजार सुन्तला बेच्न गएको कथा क्या त ?
कान्छा :- त्यो त ओलि कि छोरीको हत्ते हो नि बडा ।
बडा :- तिमी ले पनि कम पछ्याएका थियौ र ।
कान्छा :- बिछ्टै राम्री हो कि ? ठुला आँखा , लामो कपाल , सलक्क परेको ज्यान । जीवन मा धेरै कुरा छुटेर जाँदा रहेछन तर यादले भने नमरुन्जेल नछोड्ने रहेछ ।
बडा :- हेर हेर तन्नेरी भएको । अहिले पनि उस्को कुरा गर्योकी अनुहार रातो भएर आउँछ कान्छाको ।
कान्छा :- हे यी बडा पनि , तिम्रो कुरा भनौ ?
बडा :- भो । बरु त्यो बाटो खन्दा क्या
। एकपटक माथी ठिम्पु जाने बाटो खन्न जादाँ गैह्रा घरे दाहाल कस्तो बिजोक भएर बारुद पड्किएर मरे ।
कान्छा :- मेरा हजुरबा का बाउ नेपालको रामेछाप बाट आएका अरे । तन्नेरी हुँदै आएका बलिया थिए अरे । हाम्रो हजुरबाउ जन्मेको साल आरा काट्न बनाएको टेको भाचिएर हेमानको मुढोले किचेर मरेका अरे ।
बडा :- दुख त कति गरियो गरियो नि । हाम्रा बुढाहरु बलिया , जस्तो काम भएपनी फत्ते गरेर छोड्ने । उ केटाहरु आएजस्तो छ । अब त्यतैका कुरा सुनौ ।
( च्याब्रुङ बोकेर राई कान्छ , सुन्तली , मिनाको प्रबेश )
कार्की :- ल ल सुन्तली जाड छान ।
कान्छा :- यो कार्की लाई लाग्छ हतार ।
सुन्तली :- इ कार्की दाइ ! एकछिन साकेला नाचौ अनि खाउला नि जाड ।
राई कान्छा :- ए तिमीहरु के भको , छिटो गरौं न । लौ बडा देबदेबीको पुजा गर्नु ।
बडा :- हौ केटा हो , हतार नगर न हौ , एकछिन पर्ख । त्यो बाटा माथी बाउन गाउँको केटाहरु पनि आउछुम भन्दै थिए । तिनीहरुलाई पनि आउन देउ न । छरछिमेक सबै भेला भको पो रमाइलो त ।
राई कान्छा :- बिष्नुले त म पनि आउछु हौ साकेला नाच्न भन्दै थियो । अस्ति उस्कोमा सत्यनारानको पूजामा रातभरी नाचेको हौ । कस्तो रमाइलो भको ।
सुन्तली :- त्यो दिन त मिनाले पनि गाएर उत्पातै गर्यो । बिष्नु सङ्ग नारिएर हिडेको देख्छु त्यो केटि ।
राई कान्छा :- तिमी नि तिमी ? उचै श्याम सङ्ग नाच्दै हिडेको कस्ले भन्दियोस ।
बडा :- को श्याम भन्छ यो ? कि त्यो थापा लाउरेको छोरो ।
कान्छा राई :- हो त्यही केटो , भरसक उ पनी आउला अहिले ।
सुन्तली :- आ यी कान्छा दाइ पनि ।
कार्की :- मेरो त कर्मै फुटेको कुनै तरुनीले नि पत्याउदैन ।
सुन्तली :- जतिबेला पनि मातेर हिड्छौ , कस्ले हेरोस त यस्ता जड्याहा लाई ?
कार्की :- माया गर्ने तरुनी भेटे त यो जाड छोडिदिन्थे । त्यै कसैले हेर्दैन अनि खान मन लागेर आउँछ ।
( बिष्नु , श्याम र मिनाको प्रबेश )
श्याम :- लौ ! हामी पो ढिलो भयौं कि क्या हो ?
बडा :- बेला हुदैंछ , ल म देउ , देउता मनाउछु । तिमेरु रमाइलोको तयारी गर ।
( ढुङ्गामा फूल अक्षता चडाउदै ) लौ पर्मेस्वरी हाम्रो रक्षा गर , हाम्रो अन्नबाली राम्रो होस , रोगब्याधी नलागोस , बस्तुभाउ , बाछा पाडा नमरुन । खोलो पैह्रो नलागोस । हे बन देउता , हे खोला नाला , हे पहाड पर्बत , हे धर्ती माता हाम्रो रक्षे गर । हामी तिम्रै सन्तान , तिम्रै शरनमा छौ ।
श्याम :- लौ पूजा सकिए जस्तो छ ।
कार्की :- ए राइकान्छा – हौ च्याब्रुङ्ग बजाउनु हौ ।
राई कान्छा :- ल ल आउनुस ।
सुन्तली :- मिना आइज न हौ नाच्न ।
मिना ;- ( बिष्नु लाई तानेर ) आउ सङ्गै सबै नाचौ ।
बिष्नु :- मलाई गोडा पो चाल्न आउदैन कि ?
राई कान्छा :- यसो सार मिलाउने त हो ।
सबै 🙁 गाउछन ) सिन्कौली सेउली सिलिली हौ , नाचिमा जाउ है फिलिली
गाई चर्छ बैसी चर्दैन , ज्यान मर्छ माया मर्दैन ।
उर र .. बरि लै लै हुर ..र हा हा
सोइ डोले सोइ अर्को ढोले खोइ
श्री खण्ड घोटी चन्दन
चुडाउनै पर्छ बन्धन
जनता अब जुट्ने हो
अधिकार लिन उठ्ने हो
सिन्कौली …….
देउतालाई चडाई पाती यो
अगाडि बडौं साथी हो
धानमा बस्यो धान चरी
समाज जुट्नु छ केइ गरि
सिन्कौली ….
राई लिम्बू क्षेत्री बाहुन
होइनौ है यो देशको पाहुना
यो धर्ती बनायौ हामीले
मिलेर दमाई र कामी ले
मिलेर सबै जुट्ने हो
संस्कृती बचाउन उठ्ने हो
सिन्कौली …..
चमेली :- लौ कार्की दाइ जाड खान आउनुस । अरु पनि आउनुस खाजा खान ।
बिष्नु :- यी कार्की दाइ जाड भनेपछी हुरुक्क ।
मिना :- तिमी के खान्छौ नि ?
चमेली :- तरुल र सेल रोटि छ , जाड नखानेलाई ।
श्याम :- म पनि अलिकती जाड खाने ।
बडा :- आफ्नो परम्परा देखि नखाएको ले जाड नखादा केही हुन्न । बिष्नु बाउन जाड खान्न भने ठिकै छ नि , तरुल छ , सेल रोटि छ । त्यही खाजा खाने नि ।
कार्की :- खै आफू त सङ्गतमा परियो खाइयो ।
मिना :- मन लाग्नेले खाने हो नलाग्ने ले नखाने हो । तल सुब्बा काकाको मा चाडबाडमा कहिले पनि जाड रक्सी चल्दैन । लिम्बुको घर भनेर के गर्नु ।
राईकान्छा :- लु हामी मातेर हिडेर हामी लाई मतुवाली भन्छ । कार्की लाई के भन्छ्न होला ? लु अब लागौं ! ( सबै उठ्छन , मञ्च अधारो हुन्छ )
दृष्य दुई ( गाउले घर , एकजना ४५/५० उमेरको पुरुष हातमा कोदालो बोकेर मञ्चमा देखा पर्छ , कोदालो घरको कुनातिर थन्क्याउदै गर्दा भित्रबाट महिलाको प्रबेस हुन्छ )
महिला :- ए आउनु भयो ? गाउँमा त ब्यापक हल्ला छ त ।
पुरुष :- के भनेकी बिष्नेकी आमा ? के हल्ला सुनिस र ?
महिला :- सरकारी मान्छे आएर भन्दै थिए अरे । हुलदुङ्गामा नजानु । जुलुस नगर्नु , नभए राम्रो हुन्न ।
पुरुष :- रुद्र मास्टर सङ्ग भेट भएको थियो । भन्दै थिए । सरकारले हाम्रा कुरा सुनेन , जनताको सामान्य अधिकार पनि कटौती गर्न थाल्यो । सायद त्यही भएर होला ।
महिला :- खै कस्ता दिन आउने हुन । सरकारसङ्ग सिङ्ग जुधाएर केही होला त ?
पुरुष :- मास्टर त सरकारको बिरोध गरेको होइन , जनताको अधिकार मागेको भन्दै थिए । के जानुम र हामी यस्ता कुरा ।
महिला :- अनि राजा पनि के भएका त रैतीका कुरा त सुन्नु पर्ने नि ।
पुरुष :- ठुला मान्छेका कुरा के बुझ्नु र गाउँमा पढेलेखेकाले जे गर्छन , हामीले तिनले भनेको गर्ने त होला नि ।( प्रसङ्ग बदलेर ) अनि ठूलो केटो कता गयो नि ?
महिला :- खै घाँस लिन जान्छु भन्थ्यो , बन गएको होला नि । ( बडाको प्रबेश )
बडा :- ए साना बाजे के छ मेलो ?
पुरुष :- ए ठुले पो ? आइज बस ।
कता पो हिडिस ठुले ?
महिला :- ठुल्दाई चिया खाउँ है ,
बडा :- तिमीले खा भन्छेउ भने , खाउला त नि । अब तिमी बाउनीले जाड दिने होइन होला त ?
महिला :- यी ठुल्दाई पनि ! ल म गए भित्र ।
बडा :- भाउजू को चियाले हाम्रो कुराको मेसो नै हरायो । अँ , कुरा के भने नि साना बाजे ! चिराङ्ग तिर त मान्छे समात्यो पो भन्छ त ?
पुरुष :- यतिका बर्ष भो भुटान बसेको , कतै चरो मुसो समातेको सुनिएको थिएन , के हुन लाग्या हो को नि ?
बडा :- तेजमान शुब्बा , कालीकोटे माइला र भिमलाल अधिकारी लाई सिपाइले हिजो लिएर गएका अरे ।
पुरुष :- भित्रभित्रै केही चैं हुदैछ जस्तो छ ठुले हाम्रो देशमा । हामी गाउँमा छौं , त्यो हावा यता नआउला ।
बडा :- देशै उठ्यो भने त हामी पनि चुपलागेर बस्न मिल्ला र ?
पुरुष :- खै के हो ? कसो हो ? भुटान भित्रभित्रै अशान्त भएको होकि जस्तो बुझिन्छ ।
बडा :- कसैलाई नभन्नु यो राजाले हामी लाई ल्होछम्पा भनेर अलि दुख दिन खोज्दैछ अरे ।
महिला :- ( हातमा दुइवटा गिलास लिएर प्रबेश गर्दै ) राजाका लागि सबै प्रजा बराबर हुनु पर्ने किन यस्तो गरेको होला ?
बडा :- रगत पसिना गरेर हामीले बनाएको देश हो भुटान । परिआए राजा सङ्गै लडिन्छ नि हौ साना बाजे ।
पुरुष :- भुटान हाम्रा पुर्खाले आर्जेको भुमी हो । हाम्रा कति पुस्ता यहि धर्तीमा माटो भएका छन ।
बडा :- हामी नेपाली बोल्ने , नेपाल पुर्खाको मुल थलो भएर यता आएका हामीलाई अलि तारो बनाउदै छ अरे राजाले । यस्तै कुरा सुन्छु पढालेखा तन्नेरीका मुखबाट ।
पुरुष :- अब हाम्रो धर्ती यहि देश हो । यो राजाको खलक आउनु भन्दा अगाडि देखि हामी यो को धर्ती रक्षा गरेर बसेका छौं । अन्त जाने कुरा आउदैन । जनतालाई सुबिस्ता दिने काम राजाको हो । त्यो उनले गरून् भै गयो ।
बडा :- हाम्रा पुर्खाले जङ्गल फाँडे , बस्ती बसाले , बाटो बनाए , कुलो पैनी बनाए । हामी पनि तिरो तिर्छौ , सडक बनाउन आउ भन्छ सरकार गएका छौं । हामी रैतीले यो भन्दा बढी के गर्न सकिन्छ र ?
महिला :- लु तपाईहरु गफ गर्दै गर्नु म लागे पधेरा तिर पानी लिन ।
बडा :- हैन मेरो पनि हतारो छ , माथी छेमा बिसन्चो भन्ने सुनेर हेर्न हिडे थे , साना बाजेलाई यो कुरा थाह छ कि नाई भनेर पसेथें जान्छु ।
पुरुष :- ठुले ! छेमालाई के भएको । अस्ति त घाँसको भारी लिएर बनबाट आउदै गरेको देखें थें त । ल म पनि जान्छु । छेमालाई के भएको रहेछ ?
बडा :- ल जाउँ , दुइभाई यसो गफिदै हिड्दा रमाइलै हुन्छ ।
( मञ्च अँध्यारो हुन्छ )
दृष्य तेश्रो :-
( जङ्गल देखिन्छ , एक युवक बिष्णु र युवती मीना आपसमा कुरा गर्दैछन )
मीना :- बिस्नु ! खै तिम्रो जनै देखाउ त ।
बिष्णु :- नजिस्की न । तँ दमिनीलाई किन हेर्नू पर्यो जनै ?
मीना :- छ्या यी बाउन त । देखाउ न भन्या ।
बिष्णु :- भो पर्दैन जा उता ।
मीना :- दया मया नभएको कप्टी बाउन ।
बिष्णु :- माया छ भन्दैमा लुगा खोल्छु त म ? तँ सबै कुरामा राम्री छस कि तेरो जिद्दी गर्ने बानी चै साह्रै नराम्रो क्या ।
मीना :- हेर …! बाउन रिसाएको । तिमी रिसाउदा त तिम्रो अनुहार ठ्याक्कै हनुमानको जस्तो देखिन्छ बाई । तिमी लाई रिसाएको स्वाउदैन के बाजे ।
बिष्णु :- अनि हुने नहुने के के भन्छे , अनि रिस उठ्दैन त ?
मीना :- ल ल अब भन्दिन । तिम्रो त घाँस को भारी पुग्यो होला । मेरो भारी पुर्याउन सघाउ न ।
बिष्णु :- ल ल हिड , म रुखबाट घाँस झार्छु । तँ तल बसेर भारी मिला ।
( गित :- दुबै मिलेर गाउछन )
केटा :- नछुटोस है कहिले पनि साथ जिन्दगीको
केटी :- समाएरै अघि बडौ हात जिन्दगी को ।
केटा :- यति माया यति बिश्वास यति परौ भर
दिन जस्तै उज्यालो होस रात जिन्दगी को
केटी :-दुनियाले रात दिन चर्चा यहि गरोस
लागेको छ यी दुइलाई मात जिन्दगीको
केटा :- फूलहरु फुलेका हुन हिमाल हाँसी रहोस
तस्बिर जस्तै रङ्गिन बनोस प्रात जिन्दगीको
केटी :- अजम्बरी बनोस सधैं हाम्रो प्रेम कथा
आखिरमा झर्ने नै हो पात जिन्दगीको
( तीन जना युवा र एक युवतीको प्रबेस क्रमशः हरि , श्याम , रुद्रमणी र दिलमाया )
हरि :- ए बिष्णु ! यस्लाई भेट्न कति खोजेको यहाँ पो रहेछ ।
श्याम :- त्यो भन्छन नि , फोटो फिरिममा , हामी त पर्याछौ माया पिरिममा होकि के हो ?
रुद्र :- नजिस्की न श्याम ! हामी अहिले गम्भीर हुनुपर्छ ।
बिष्णु :- किन खोजेको र ? के भयो ?
रुद्र :- हेर बिस्नु । संसारमा प्रजातन्त्रको लहर चलेको छ । हाम्रो देशमा मात्र राजाको हुकुमी शासन चलेको छ ।
बिष्णु :- अब उस्को देशमा उसैको हुकुम त चल्छ नि ।
हरि :- यो देश राजाको मात्र होइन । यो देश जनताको पनि हो । अब देशमा राजाको हुकुमी कानुन होइन , जनताको शासन चल्नु पर्छ । चिराङ्ग , दागाना , उता काली खोला पारी सबैतिर मानिस उठि सके ।
रुद्र :- त्यसो हुँदा अब हामी पनि आफ्नो हक अधिकारका लागि उठ्न तयार हुनु पर्छ ।
दिलमाया :- हामीले के भनेका छौं र ? हाम्रा पुर्खाले पढ्दै आएको हाम्रै भाषामा पढ्न चान्छौ , आफ्नै पहिरन लाउन चाहन्छौ , हाम्रै चाडबाट मनाउन चाहन्छौ भनेको न हो ।
श्याम :- कैयौं समयदेखी हामी माथी अत्याचार हुँदै आएको छ । हामी मस्त निद्रामा निदाएका छौ । अब उठ्नु पर्छ । आबस्यक भए हतियार लिएर लड्नु पर्छ ।
रुद्र :- हामी शान्तिपुर्ण आन्दोलनमा बिश्वास गर्छौ । तसर्थ श्यामले भनेझैं हतियार उठाउदैनौ ।
हरि :- हामी सङ्ग हतियार भनेको त्यै खुकुरी त हो ।
श्याम :- त्यही खुकुरीको बलले गोर्खा फौजले कति युद्ध जितेका छन ।
रुद्र :- हाम्रो माग भनेको हाम्रै सरकारसङ्ग हो । त्यसैले हाम्रो आन्दोलन शान्तिपुर्ण हुन्छ । सत्रुसङ्ग लड्न पो हतियार चाहिन्छ त ।
हरि :- यो आन्दोलन हामी नेपाली भाषीको मात्र होइन । प्रजातन्त्र चाहने , स्वतन्त्रता चाहने सबैको हो । तसर्थ हामी मात्र छैनौ ।
बिष्णु :- अब तिमी हरु त्यसो भन्छौ भने म पनि जाउला नि ।
दिलमाया :- मिना हामी महिला पनि जानू पर्छ है । हाम्रो कुरा हामी एक भएर माग्यौ भने , सरकार दिनलाई बाध्य हुन्छ ।
मीना :- सबै गएको ठाउँमा म नजाउला त , गै हाल्छु नि दिलमाया ।
रुद्र :- आओ साथी हो अब आन्दोलन गर्ने भनेर सपथ खाउँ । ( हात उठाएर ) हे धर्ती माता । हाम्रा पुर्खाको पौरखले तिमीलाई यति सुन्दर बनाए । अझै पनि तिमी हाम्रो दुखले दुखी छौ । हामी ले हाम्रो भाषा , हाम्रो संस्कृती , हाम्रो शिक्षा हामी ले निर्वाध गर्न पाएका छैनौ । त्यो कुराले तिमी दुखी छौ जननी । अब हामी स्वतन्त्रता ल्याएर तिम्रा सन्तानको अनुहार खुसी भएको हेर्ने तिम्रो इच्छा पूरा गरि छाड्छौं । इन्किलाब – जिन्दाबाद , हाम्रो देश – जिन्दाबाद !
हरि :- भोलि हामी जुलुस गर्ने साम्ची बजारमा ! त्यही भेला हुने ।
सबै जना :- हुन्छ , हुन्छ ।
( मञ्छ अँध्यारो हुन्छ )
दृश्य :- चौथो :-
( मञ्चमा अध्यो छ , नेपथ्यमा जिन्दाबाद र मुर्दाबादको आवाज सङ्गै गोलि चलेको मानिस चिच्याएको सुनिन्छ ) ( मन्चमा रगतमा लतपतिएको बिष्णु हस्याङ फस्याङ गर्दै आउँछ र ढल्छ ) ( पार्श्वको आवाज कम हुँदै जान्छ , र मधुरो गितको आवाज सुनिन्छ , देशले रगत मागे मलाई बलि चढाउ ) ( मीनाको प्रबेस , स्या स्या गरिरहेकी हुन्छे , टाउको हातले समाएर जमिनमा घुँडा मारेर बस्छे ।) ( यताउता हेर्छे र उठेर बिष्नु छेउ जान्छे )
मिना :- बिष्नु ! के भो उठन , पुलिसले उता गोलि चलाएर धेरै मानिस ढले । म तिमी कता छौ भनेर खोज्दै आएको ( झकझक्याउछे ) तिमी त यहाँ सुतेका छौ ।
हरि :- के भो मिना ? बिष्नु किन यहाँ सुतेको छ ? अरे ! यस्लाई त गोलि लागेजस्तो छ ? बिष्नु ! ए बिष्नु ! (तर्सैदै पर हटेर ) ला ….. यो त मरिसके छ ।
( चिच्याएर रुदैं ) मिना बिष्नु मर्यो । अब यो उठ्न सक्दैन मिना ।
मिना :- होइन ( चिच्याएर रुदै ) बिन्ती हरि ! बिष्नु लाई त्यसो नभन । उस्लाई केही भएको छैन । उ उठ्छन । उस्लाई उठाउ हरि । उ निदाएको मात्र हो । थाक्यो होला नि त कुद्दा कुद्दै अनि निदाएको ।
हरि :- होइन मिना । उ निदाएको होइन उ त हामी नेपाली जातीको अस्तित्व रक्षा गर्दा गर्दै , देशमा प्रजातन्त्र ल्याउनु पर्छ भनेर लड्दा लड्दै सहिद भयो ।
मिना :- ( उठेर आँशु पुच्छदै ) तिमी मलाई छोडेर जान पाउदैनौ बिष्नु , हेर है म रिसाउछु नि । उठ न के । यसो नगर न ।
हरि :- मिना होसमा आउ यसरी नबोल । तिम्रो मायालु मान्छे मर्यो , अब उ फर्केर आउदैन । आफुलाई सम्हाल मिना । अब बिष्नु का बुबा आमाको के हाल होला ।
तिमीले त उहाँहरुलाई पनि सम्झाउनु पर्छ ।( मिना बिष्नुलाई छाँद हालेर रुन्छे ) ( रुद्रको प्रबेश )
रुद्र :- के भो ? किन रोएकी मिना ?
हरि :- उ हेर न ।
रुद्र :- के भो बिष्नु लाई ? ( बिष्नुलाई गएर हेर्छ , नाडी छाम्छ ) ओ हो ! हरि हाम्रो साथीलाई यहाँको शासकले मारेछ है । देशमा प्रजातन्त्रको उज्योलो ल्याउन लड्दै गरेको एउटा योद्धालाई शासकले चलाएको गोलिले सहिद बनायो । अब यो निरङ्कुस राजाको सत्ता एकदिन सिद्दिने छ र यो देशमा स्वतन्त्रताको प्रजातन्त्रको झण्डा फहराउने छ ।
हरि :- रुद्र ! पुलिस आयो भने यो लासलाई राम्ररी सदगत गर्न दिने छैनन तसर्थ हामी बिष्नुको यो सब लिएर घरमा लैजाउ र अन्त्यस्टी को तयारी गरौ ।
रुद्र :- बिष्नुको मृत्युको खवरले ती बुढाबुढी हुनलागेका बा आमाको मनमा कत्रो बज्रपात पर्ला । हे दैब रक्षा गर ।
( मञ्च अँध्यारो हुन्छ )
दृष्य :- पाँचौ
( बाटामा एउटा जाँड खाएर हल्लिदै गरेको मान्छे )
जड्याहा :- ईस तेरो कुरा सुन्छु । कति न तह लाउने भएको । यसै जड्याहा पो भन्दोरहे छ । हामी जड्याहाले देशको आम्दामी बडाएको देख्तैन कसैले । हामी ले जाड खाएर भट्टी पसल चलेको छ । भट्टी साहुनीले काम पाएकी छ । साहुनी को कमाइले उस्का छोराछोरी पढेका छन । उस्का छोराछोरी पढेर मास्टरले जागिर पाएका छन । मास्टरले जागिर खाएर उनीहरुको बुढीले साडी लाएका छन । तिनले साडी लाएर कपडा उधोग चलेका छन । बात कर्ता है । अरु भनौ ? तर कस्लाई भन्नू , होस । जाँड खानेलाई जड्याहा भनेर के बिगारे त । ( सेनाको प्रबेश )
सेना :- ए के को हल्ला गरेको हँ ?
जड्याहा :- ( एउटा हातले बोटल लुकाउदै ) सलाम साप । चिरिप्प लाउने हो ?
सेना :- चुप ! तँ को होस ? ल्होछम्पा कि ……
कार्की :- म …म त भुमे कार्की । साप अलिकती खानेकी ? पियोर कोदोको माल हो ।
सेना :- बढ्ता बोल्छस । हिड !!
कार्की :- भट्टिमा हो साप ? भट्टिमा हो भने गुरुङ्सेनी काकीकोमा दामी रक्सी छ त्यही जाउँ !
सेना :- तलाई जड्यहा । अब लगेर खोरमा जाकेपछी थाह पाउलास ।
कार्की :- बाख्राको खोर हो साप । त्याँ त ओ हो ! बोको उखुम गनाउछ ।
सेना :- हिड । के गनाउछ । राजाको अगाडि पुगेपछी थाह पाउछस । तलाई देश द्रोही , यिनै हुन राजाको गाथगादी ताक्ने ।
कार्की :- के ताक्ने भनेको बुझिन , अस्ति गुलेलीले चरा ताकेको चै हो तर मरेन ।
सेना :- ( कठालो समातेर घिसार्न खोज्छ )
कार्की :- ए बिस्तारो , घाँटी मा पासो लाग्यो । जाउँ भने त हिडि हाल्छु नि ।
सेना :- लु हिड । ( मञ्च अध्योरो हुन्छ )
छैटौं ; दृश्य :-
( दरावरको बैठक कोठा , राजा , बसेको छ , दुइटी सुसारे पंखा हम्किदै छन , छेउमा मन्त्री उभिएको छ )
राजा :- यी ल्होछम्पाहरु उग्र भएजस्तो छ । अब यिनलाई सेना लगाएर देश निकाला गर्नु पर्छ । हाम्रो शासन गर्ने अधिकार यिनलाई दिनुपर्ने अरे । यी हलि गोठालाको यत्रो आट । यिनले न्यासुर क्षेत्रीलाई सुनकोसमा हालेको बिर्सेछन ?
मन्त्री :- त्यै त महाराज । तर महाराज यी त हजुरको बंश भन्दा अगाडि देखि भुटानका बासिन्दा हुन । यिनलाई निकाल्दा अरुले केही भन्ने पो हुन कि ?
राजा :- के भन्यौ ? कस्ले के भन्छ ? भारत सरकारले हाम्रै पक्ष लिन्छ । बर्मा आफै समस्यामा छ । नेपालले हार्म्रो केही लछार्न सक्दैन । यिनलाई अब लखेट्नै पर्छ । यिनलाई यतिकै छोडे आउने दिन अझै नराम्रा हुनेछन हाम्रा लागि ।
मन्त्री :- हाम्रा सेनाले मात्र त यिनलाई निकाल्न सक्दैनन । यी गोर्खाली त बहादुर हुन्छन सरकार ।
राजा :- थाह छ । यी नेपाली भाषी विश्व
जित्न सक्ने बहादुर छन । त्यै भए भारत सरकारसङ्ग सेनाको सहयोग मागेको छु । आज रातभरिमा यिनलाई यहाँबाट लखेट्नु पर्छ ।
मन्त्री :- म सेनाको मा यहि खवर पठाउछु । ( सेना र कार्की को प्रबेश )
सेना :- सलाम । महाराज !
मन्त्री :- को हो ? कस्लाई लिएर आएको ?
सेना :- हिजोको आन्दोलनमा सहाभागी भएजस्तो लागेर ल्याएको ।
राजा :- गोलि ठोकिनस ?
सेना :- तीन चार जना त ढालियो हजुर हिजो । यो कता जाड खान पसेर बाचेछ ।
मन्त्री :- ए ! तँ राती नै देश छोडेर भग्छस कि ठोकौ गोलि ?
कार्की :- मेरो देशनै यहि हो । यो देश छोडेर कता जानू माराज ?
मन्त्री :- यो तेरो देश होइन । तँ ल्होछम्पा होस ।
कार्की :- धरोधर्म कार्की हो । यी याँ छ मेरो नागरिकता ।
राजा :- यस्को नागरिकता खोस र आजै राती देश छोड्न भन ।
सेना :- सुनिस मारजले के मर्जी भो ?
खै ले तेरो नागरिकता ( लिन्छ ) अब तँ यो देशको होइस , अब भाग यहाँबाट ।
कार्की :- नागरिकता लिएर के हुन्छ माराज । देश त याँ ( छाती देखाएर )
भित्र छ ।
सेना :- तेरो छाती छेडेर देश निकालौं कि भाग्छस ?
कार्की :- अब बस्नै नदिने भए जान्छु ।
मन्त्री :- आफ्ना जहान बच्चा लिएर आजै राती सिमाना काट , जा भाग ।
( कार्की निस्कन्छ )
राजा :- आज रातभरिमा सबको उठिबास लगाउनु , यिनलाई चाहिएको स्वतन्त्रता ? कति हेप्न खोज्या त ।
सेना :- केही गाउँमा आगो लगाउने कसैलाई गोलि ठोक्ने र अरुलाई भाग्न बाध्य पार्ने हो अब ।
राजा :- लु त्यसै गर । आज रातभरमा गाउँ खाली होस ।
सेना :- हस मा राज । ( मञ्च अँध्यारो हुन्छ )
छैठौं : दृस्य !
( चीत्कार गरेको , रोएको , आगो लाग्यो भनेको , भाग भाग भनेको आवाज सङ्गै मञ्च उज्यालिन्छ , बिष्नुको लास लडाएको छ , पुरुष , महिला , बडा , मिना र दिलमाया देखिन्छन । मिना को को होलो गरेर रुदै छ । )
दिलमाया :- नरोउ मिना , रोएर अब बिश्नु फर्केर आउदैनन ।
मिना :- उनले के बिगारेको थिए र यसरी मारे । उनी त सबैको राम्रो सोच्थे ।
दिलमाया :- राम्रो मान्छे भगवानलाई मन पर्दैन होला । त्यै भए गोलि उनलाई लाग्यो । मिना ! काका काकी लाई के भएको होला , तिमीले ढाडस दिनु पर्ने , झन यसो गरेपछी वहाँहरुलाई के भएको होला ।
बडा :- सरकार लागेपछी कसैको जोर नचल्ने रहेछ बाजे । हाम्रो भाग्यमा यस्तै लेखेको रहेछ ।
पुरुष :- मेरो छोराको लास सबगत गर्नु पर्ने , कोहि किन नआएको होलान ।
बडा :- सबै तिर हाहाकार छ , भागाभाग छ । यहि कतिबेला सरकारी सेना आउने हुन थाह छैन ।
दिलमाया :-
हे धर्ती
हेर हाम्रो चित्कार
हाम्रो के अपराध थियो
हाम्रो के गल्ती थियो
हामी प्रजातन्त्रको
उज्यालोमा बाच्न चाहन्थ्यौ
आफ्नै लयमा रमाउन चाहन्थ्यौ
तर
कायर शासकले
हाम्रो ज्यान लिइरहेको छ
हाम्रो रगत पसिनाले
सुन्दर भएको हाम्रो जमिनबाट
हामीलाई बेघरवार बनाउन खोज्दैछ
तर याद गर
तिमी हरुको मर्ने दिन आउने छ ।
त्यसबेला तिम्रो मृत्यु मा
शोक मनाउने कोहि हुने छैन
यो ज्यान
जस्लाई तिमीले सिध्याए भन्यौ
उ हजार भएर जन्मिने छ र
तिम्रो अत्याचारी दरवारमा
चट्टान भएर बज्रीने छ ।
चट्टान भएर बज्रीने छ ।
( रुद्र , श्याम , को प्रबेश )
रुद्र :- लु काका , बडा , काकी हिडि हाल्नुस , सेना जस्लाई भेट्यो गोलि हान्दै आइरहेको छ ।
पुरुष :- मेरो छोराको लासको सदगत गर्नु पर्दैन । म कसरी यो लास यत्तिकै छोडेर बाटो लागौं ?
राई कान्छा :- हामीले छोडेर गएपछी उनैले केही गर्लान , ल उठ्नुस छिटो भागौ । नभए हामी सबैलाई सोत्तर पार्छ । ( बडाले पुरुषलाई उठाउछन , दिलमायले महिलालाई उठाउछिन , रुद्रले मिनालाई उठाउन खोज्दा उ बिष्नुको लास माथी घोप्टिएर चिच्याउछे )
मिना ;- म बिष्नुलाई छोडेर जान्न !
रुद्र :- त्यसो नगर मिना हिड , ( जबरजस्त तानेर उठाउछ ) ( सबै नेपथ्य तिर लाग्छन ) ( कार्की को प्रबेश )
कार्की :- सबै हिडे है , गाउँ पुरै रित्तो भयो । बिष्नुको लास सम्म थान्को लाउन दिएनन । थुक्क पापी राजा । हे धर्ती माता तिमीलाई दुख दिने जिग्मे खलकको सत्यानास होस । अहिले हामी जाँदै छौ तर हामी फर्किएर आउने छौ कुनै दिन हाम्रो आगन टेक्न । बिष्नु भाइ तिम्रो आत्माले शान्ती पाओस । के गर्नु हामीले अहिले निर्वाशित हुनु पर्यो । तर हामी हाम्रो देश अबस्य फर्कने छौ कुनै दिन । (अलि अगाडि बड्छ ) ला यो रक्सी पनि त्यै पापी राजालाई भयो । अब देखि रक्सी छुने छैन । जब सम्म मेरो देश फर्कन पाउने छैन । साथी हो म पनि आए । ( पर्दा खस्छ )
समाप्त ।
र यो पनि ….