मेरिल्याण्डमा गौराको रौनक

Getting your Trinity Audio player ready...
|
बाल्टिमोर, मेरिल्याण्ड/ अमेरिकाको मेरिल्याण्ड राज्यमा आइतबार गौरा वर्ष धूमधाम मनाइएको छ। मेरिल्याण्ड सहित आसपास राज्यबाट पर्व मनाउन एक ठाउँमा जम्मा भएका थिए।
सुदूरपश्चिम नेपाली समाज मेरिल्याण्डले गौरा पर्वको आयोजना गरेको हो। बाल्टिमोरको हिन्दु बौद्ध मन्दिरमा गौरा पर्व आयोजना गरिएको थियो।
गौरा वर्ष नेपालमा सुदूर पश्चिमको प्रमुख पर्व हो। यद्यपि पछिल्ला केही दशक यता यो पर्व काठमाडौँ सहित विदेशका शहरहरुमा पनि मनाउने गरिएको छ।
बाल्टिमोरमा रहेको मन्दिरको मुलद्वारबाट गौरा माताको प्रतिमा सहितको यात्रा शुरु भएको थियो। गौरा माताको प्रतिमालाई मन्दिर परिक्रम गरी प्राङ्गणमा बनाइएको विषेश मञ्चमा राखी पूजा अर्चना गरिएको थियो।

गौरा नाच, पन्चे बाजाको तालको नाचले कार्यक्रमको रौनक थपेको थियो। यस्तै फल फट्काउने, तथा देउडा खेलहरू प्रदर्शन गरिएका थिए ।
सोही क्रममा विभिन्न समुदायका अगुवाहरूले कार्यक्रममा उपस्थित भई गौरा पर्वको शुभ कामना दिएका थिए।
कार्यक्रमका प्रमुख अतिथि नेपाली राजदूतावास डिसीका आर्थिक सल्लाहकार युगराज पाण्डेयले गौरा पर्व अब नेपालको पर्व भएको बताए। त्यस अगाडि उनले पनि गौरा पूजामा सहभागिता जनाएका थिए।
सुदूरपश्चिम नेपाली समाजका कार्यवाहक अध्यक्ष हरिष साउदको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मेरिल्याण्ड राज्यका सिनेटर कार्ल ज्याक्सन विशिष्ट अतिथिले पनि शुभ कामना दिएका थिए।
उनले नेपाली समुदायबाट प्राप्त माया प्रेमको प्रशंसा गर्दै नेपाली समुदायको हितका लागि आफ्नो तर्फ बाट सक्दो सहयोग गर्ने बताए।
यस्तै मन्दिर व्यवस्थापन समितिका अध्यक्ष डाक्टर श्याम कार्की, मन्दिरका उपाध्यक्ष कृष घिमिरे, बाल्टिमोर काउन्टीका प्रतिनिधि यान मा, एपीआई मिडल ईस्टर एण्ड डेजी अमेरिकन टियु सेन्टर फर स्टुडेन्ट डाईभर्सिटीका कोर्डीनेडर एकिता सेड, एसिस्टेन्ट अफ ईस्टुडेन्ट गर्भमेन्ट एसोसिएसनका ब्राएन्ट रेईज, बानाका अध्यक्ष जितेन्द्र गरुड, समाजका पूर्व अध्यक्ष दामन विक्रम शाह लगायतले शुभकामना दिएका थिए।
सुदूरपश्चिम समाजका अध्यक्ष विक्रम शाही तथा समाजका सल्लाहकार भीम विकले स्वागत मन्तव्य व्यक्त गरेका थिए।
कार्यक्रममा गौरा व्यवस्थापन समितिका संयोजक तीर्थराज पाण्डेयले गौरा पर्व बारे प्रकाश पारेका थिए।
कार्यक्रमको सञ्चालन समाजका महासचिव यज्ञ रानाले गरेका थिए।