यी सवारी साधनमा लागु हुँदैन जोर बिजोर
काठमाडौँ/ सरकारले काठमाडौँ उपत्यकाभित्र आज (शुक्रवार) मध्यातिर १२ बजेदेखि सवारीसाधनमा जोर बिजोर प्रणाली लागू गरेको छ ।
कोरोनाभाइरस सङ्क्रमण नियन्त्रणका लागि उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयले आदेश जारी गर्दै शुक्रवार मध्यातिर जिल्लाभित्र चल्ने सवारीसाधनमा जोर बिजोर प्रणाली लागू गरेको हो ।
सार्वजनिक र निजी सवारी साधनहरू (दुई पाङ्ग्रे सहित) जिल्लाभित्र जोर गते जोर र बिजोर गते बिजोर नम्बर प्रणालीमा सञ्चालन गर्न पाइनेछ ।
सवारी साधनमा जोरबिजोर प्रणाली लागू भए पनि उपचार लगायत अत्यावश्यक सेवा प्रवाह भने चल्न पाउने तीन वटै जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ ।
औषधि एवं स्वास्थ्य सामग्री बोकेका सवारी साधन, एम्बुलेन्स, दमकल, शव वाहन, ग्याँस, पेट्रोलियम पदार्थ, पानी बोक्ने सवारी साधन (चालक र सहचालक मात्र), खाद्यान्न, दुग्धजन्य पदार्थ, फलफूल, तरकारी, अन्डा, माछा मासु, पशुपक्षीका दाना, एवं कृषि तथा पशुजन्य सामग्रीहरू बोक्ने सवारी साधन (चालक र सहचालक मात्र)लाई जोर बिजोर प्रणाली लागू हुनेछैन ।
यस्तै, निर्माण सामग्री बोक्ने सवारी साधन (चालक र सहचालक मात्र), परिचयपत्रको आधारमा सरकारी कर्मचारी, चिकित्सक,स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सार्वजनिक संस्थानका कर्मचारीले प्रयोग गर्ने सवारी साधन, परिचयपत्रको आधारमा बैक, बिमा, वित्तीय संस्था र वायुसेवा कम्पनीका कर्मचारीले प्रयोग गर्ने सवारी साधनमा जोर बिजोर प्रणाली लागू हुँदैन ।











