सुशील श्रेष्ठ : जसलाई भ्यागुताको तस्बिरले चिनायो

सबिता नयाँजू /
काठमाडौं । प्रविधिको विकासले नेपालमा फोटो पत्रकारिता र फोटोग्राफी बन्दै गएको छ । एन्ड्रोइड मोबाइल सेटमा हाइ मेगापिक्सलको क्यामेराका कारण सजिलै तस्बिर खिच्ने सुविधा दिएपछि सामान्य व्यक्तिहरू पनि फोटोग्राफीप्रति अभ्यस्त बन्दै गइरहेका छन् ।
तर सुशील श्रेष्ठले रिलवाला क्यामेराबाटै आफ्नो यात्रा सुरु गरे । प्रविधिको विकाससँगै क्यामेरा पनि एडभान्स फिचरका बजारमा आए । सुशीलले रिलदेखि चिपसम्मको क्यामेराबाट सयौँ तस्बिरहरू कैद गरिरहेका छन् । ‘मैँले क्यामेरा चलाउन सुरु गर्दा क्यामेरा दुर्लभ र कम क्षमताका हुन्थे । फिल्म(रिल) हालेर फोटो खिच्नुपर्ने र धुलाएर मात्र परिणाम देख्न पाइने प्रक्रिया निकै खर्चिलो र समयसापेक्ष हुन्थ्यो,’उनले विगत स्मरण गर्दै भने ।
यही कठिन समयमै एउटा संयोगले एक व्यक्तिको जीवन नै परिवर्तन गरिदियो । इन्जिनियरिङ पृष्ठभूमि भएका सिराहा मिर्चैयाका श्रेष्ठ फोटोग्राफी हुँदै फोटो पत्रकारितामा सक्रिय छन् । ‘लामो समय केयर इन्टरनेसनल नेपालमा काम गरेँ । पछि युनिसेफलगायत अन्तर्राष्ट्रिय संस्थामा समेत काम गरेँ । १९९५ सालतिर बाजुरामा खटिएका बेला एक सहकर्मीको फिल्म क्यामेरा हातमा पर्यो । त्यसपछि मैँले क्यामेरामा रोमाञ्चक तस्बिरहरू कैद गर्न सुरु गरेको हुँ,’ उनले भने ।
सहकर्मीको क्यामेराले खिचिएका केही तस्बिरहरूले उनलाई आकर्षित गरे । त्यसपछि उनले सेकेन्ड ह्यान्ड ‘यासिका एफएक्स थ्री’ क्यामेरा खरिद गरे र नियमित अभ्यास सुरु गरे । जसले उनलाई निखार्दै लग्यो र फोटोमा अभ्यस्त गरायो ।
केयर नेपालमै खिचिएका उनका तस्बिरहरू संस्थाको केयरको प्रतिबिम्ब नामक प्रकाशनमा प्रकाशित हुन थाले । सुरुमा रुचिका लागि गरिएको काम बिस्तारै पेशागत यात्रामा परिणत भयो ।
चुनौतीपूर्ण अनुभव
फोटोग्राफी यात्रामा उनले धेरै आरोह अवरोह पार गरे । करिब १५ वर्षअघि डब्लुडब्लुएफको तर्फबाट ताप्लेजुङको घुन्सामा स्नो लेपर्ड(हिउँ चितुवा) संरक्षणसम्बन्धी तालिम दिन पुगेका बेला पाँच हजार मिटर उचाइमा ठूलो भूकम्प आयो । उनी बस्ने घरकै पर्खाल ढलेको थियो तर संयोगले उनी सकुशल रहे ।
त्यस्तै नेपाल पर्यटन बोर्डको काममा खप्तड–रामारोशनतर्फ जाँदा ज्यान जोगाए । भीषण वर्षामा खोला पार गर्ने क्रममा चिप्लिएर बग्ने अवस्था आयो । तर भरियाको सहयोग र भाग्यको कारण उनी त्यहाँ पनि जोगिए र बाँचे ।
उनले भने, ‘नेपाल टुरिजम बोर्डले मलाई लगभग एक वर्षको लागि काम दिएको थियो । टुरिजम प्रमोसनका लागि फोटो खिच्न भनेर सक्रिय थिएँ । सोही बेलाको समयमा अर्थात् साउन–भदौतिर भरियाको साथमा खप्तड पुगेको थिए । खप्तडको फोटो खिचेर रामारोशन जानुपर्ने थियो । भीषण पानी परिरहेको थियो । एउटा सानो खोला तर्नुपर्ने थियो, तल झरना थियो । त्यस क्रममा म चिप्लिए । रुखको हाँगामा अड्किए । तर भरियाले तुरुन्तै डोरीले तानेर बचाउनुभयो । यी दुई वटा घटना त म कहिल्यै पनि बिर्सिन सक्दिन । जस्तोसुकै जोखिम मोलेर पनि फोटोका लागि दौडिरहन्थे । यो प्यासन पनि रहेछ । आज यो उमेरमा पनि दौडिरहेको छु ।’
पेशागत मोड
२००६÷०७ तिर पहिलो पटक डीएसएलआर क्यामेरा किनेपछि उनले पूर्ण रूपमा पेशागत फोटोग्राफी र फोटो पत्रकारिता सुरु गरे । यस अवधिमा उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सयौँ अवार्ड हात पारिसकेका छन् । आफूले पाएका सबै अवार्डको गणना गर्न नसकिने उनी बताउँछन् ।
हालै मात्र विश्वकै सबैभन्दा ठूलो धनराशि (दुई लाख अमेरिकी डलर) पुरस्कार हुने फोटोग्राफी प्रतियोगितामा उनको तस्बिर शर्टलिस्टमा परेको छ ।
सम्झनामा रहने फोटो
उनले खिचेका असङ्ख्य तस्बिर मध्ये सबैभन्दा सम्झन लायक असार महिनाको वर्षामा खिचिएको भ्यागुताको तस्बिर हो । उक्त तस्बिर धेरै चर्चित पनि भयो । बिरामी अवस्थामा श्रीमतीले रोक्दारोक्दै पनि उनी क्यामेरा बोकेर निस्किने गरेको सुनाउँछन् । सोही ढिपी र संघर्षले करिब दुई सय फोटोमध्ये एउटा उत्कृष्ट फोटो बनेको थियो । उक्त फोटो अन्तर्राष्ट्रिय म्यागजिनमा छापियो । पुस्तकहरूमा प्रयोग भयो र पाँच सय अमेरिकी डलरसम्ममा बिक्रीसमेत भयो ।
फोटो र प्रकृति
हाल उनी फोटो पत्रकारितामा क्रियाशील छन् । समाचार, रिपोर्ट र तथ्याङ्कका लागि तस्बिर खिच्ने गर्छन् । तर उनी प्रकृति, चराचुरुङ्गी र जीव जनावरको तस्बिर खिच्न औधी मन पराउँछन् । उनको विचारमा तस्बिरको महत्त्व सयौँ शब्दहरूले व्याख्या गर्न नसक्ने बताउँछन् । ‘लेख पढ्नेभन्दा पहिले मानिसको नजर फोटोमा जान्छ । त्यसैले फोटोले बोलेन भने लेख पूर्ण हुँदैन,’ उनले भने ।
व्यावसायिक कामबाहेक उनको व्यक्तिगत रुचि चराचुरुङ्गी, फूल र बोटबिरुवाको फोटोग्राफीमा केन्द्रित छ । शनिबार–आइतबार वा फुर्सदको समयमा उनी प्रकृतिसँग रमाउँदै नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने तस्बिर खिच्छन् ।
नयाँ पुस्तालाई सन्देश
आजको पुस्तामा फोटोग्राफीप्रतिको बढ्दो आकर्षण देखेर उनी उत्साहित छन् । तर सन्देश पनि दिन्छन् ः ‘फोटोग्राफी केवल स्किलमा सीमित हुँदैन । केही महिनाको तालिम र अभ्यासले प्राविधिक सीप त दिन्छ तर त्यो पर्याप्त हुँदैन । वास्तविक फोटोग्राफीका लागि धैर्यता चाहिन्छ । पैसालाई मात्रै लक्ष्य बनाउन मिल्दैन । प्रकृति, संस्कृति र समाजलाई अभिलेख गर्ने तस्बिरहरू खिच्नुपर्छ, जसले देशलाई चिनाओस् ।’
फिल्म युगको संयोगदेखि डिजिटल युगको सफलता, प्राकृतिक विपत्तिबाट बचेसम्मका घटनाले उनको जीवनलाई फोटोग्राफीमै केन्द्रित गराएको छ । पेशा र रुचि दुवै बनेको यो यात्राको मूल आधार भनेको निरन्तर अभ्यास र नछोडिने चाहना हो । ‘फोटोग्राफी भनेको मेरो आत्माको आवाज हो । फोटोले बोल्नुपर्छ र त्यो साँचो फोटोग्राफी हो,’ उनले भने ।
(नेपाल न्यूज बैंकसँगको कुराकानीमा आधारित)