सामाजिक सञ्जालमा गाली गरेर स्टन्ड गरेर मात्र देश बन्दैन : उपमेयर डङ्गोल

Getting your Trinity Audio player ready...
|
काठमाडौँ । काठमाडौँ महानगरपालिकाकी उपमेयर सुनिता डङ्गोलले सामाजिक सञ्जालमा स्टन्ड गर्दैमा देश नबन्ने बताएकी छिन् ।
बिहीबार लोकतन्त्र दिवसको अवसरमा भृकुटीमण्डपमा नेकपा एमालेले आयोजना गरेको यूथ सेलिब्रेसन कार्यक्रममा बोल्दै उनले मेयर बालेन शाहलाई लक्षित गर्दै सामाजिक सञ्जालमा अरूलाई गाली गरेर स्टन्ड गरेर मात्र देश नबन्ने भन्दै इमानदारितापूर्वक काम गर्नु पर्ने बताइन् ।
उनले भनिन्, ‘अहिले हामीले देख्छौँ । धेरै जनाले स्टन्ड गर्नुहुन्छ । बोल्नुहुन्छ । पपुलर बन्नुहुन्छ । पपुलिष्ट भएर नै देश बन्छ जस्तो पनि लाग्छ । अरूलाई गाली गरेर नै देश बन्छ जस्तो पनि लाग्छ । तर स्टन्ड गरेर देश बन्दैन । देश बनाउने हो भने काममा इमानदारिता हुनुपर्छ । त्यसैले हामी स्टन्ड गर्ने युवा हैनौँ । काम गर्ने युवा बनौँ, हामी अराजक युवा हैनौँ ।’
त्यस्तै, उनले संसारका विभिन्न ठाउँमा गएर आफूले गरेको काम र अनुभव साट्ने र सिक्ने यात्रालाई पनि सँगसँगै लगिरहेको कारण त्यसले धेरैलाई पोलेर आफूमाथि आक्रमण भएको बताइन् । त्यस्तै उनले प्रधानमन्त्री केपी ओलीले पनि काम गरेकै र राष्ट्रवादी भएकै कारणले थुप्रै आक्रमणहरू खेप्नुपरेको बताइन् ।
उनले भनिन्, ‘मैले गरेको काम देश र सहरभित्र मात्रै होइन, अन्तर्राष्ट्रिय रुपमा पनि काठमाडौँमा गरेको राम्रो कामको अनुभव साट्नको लागि निमन्त्रण गर्नुभयो । संसारका विभिन्न ठाउँमा गएर आफूले गरेको काम र अनुभव साट्ने र सिक्ने यात्रालाई पनि सँगसँगै लगिरहे, त्यसले पनि धेरैलाई पोल्यो । कुनै आधारविहीन लेख्नलाई पनि छेकेन जथाभाबी बोल्न र कमेन्ट गर्नका लागि छेकेर जथाभाबी आक्रमण निरन्तर गरिरहे ती आक्रमण गर्ने व्यक्तिहरू राष्ट्रविरोधी हुन् अहिले पनि ती तत्त्वहरू सलबलाइरहेका छन् । यो म मा मात्र सीमित छैन । प्रधानमन्त्री केपी ओलीले पनि काम गरेकै र राष्ट्रवादी भएकै कारणले थुप्रै आक्रमणहरू खेप्नुपरेको छ ।’