०८१ सालमा नेपाली फिल्म स्वदेशमा सफल, विदेशमा चुनौतीपूर्ण : अशोक शर्मा
आकांक्षा धामी /
काठमाडौँ । चलचित्र निर्देशक, निर्माता तथा डिजिटल सिनेमा नेपाल (डिसिएन) का प्रमुख अशोक शर्माले वर्ष २०८१ लाई नेपाली फिल्म उद्योगका लागि उपलब्धिमूलक र उत्साहजनक वर्षका रूपमा चित्रण गरेका छन् ।
नेपाल न्यूज बैंकसँग कुरा गर्दै उनले बितेको वर्ष झन्डै ५ देखि ७ वटा नेपाली फिल्मले आशातीत सफलतासहित बक्स अफिसमा उत्कृष्ट प्रदर्शन गरेको बताए ।
शर्माका अनुसार ‘पूर्णबहादुरको सारङ्गी’ फिल्मले ५० करोड रुपैयाँ ग्रस कलेक्सन गर्दै विगतका कैयौँ रेकर्ड तोडेको बताए । ‘यस्तो ग्रस कलेक्सन गर्ने फिल्म पाँच सात वर्षमा एक पटक मात्र आउने गर्छ,’ शर्माले भने, ‘यस फिल्मले नेपाली फिल्म बजारमा नसोचेको व्यापार गरेको छ ।’
‘बोक्सीको घर’, ‘बाह्र गाउँ’, ‘अञ्जिला’ सफल सूचीमा
शर्माले सफल फिल्महरूको सूचीमा ‘बोक्सीको घर’, ‘१२ गाउँ’, ‘छक्कापञ्जा’, ‘ज्वाईसाब’, ‘अञ्जिला’ लगायतका फिल्महरू समावेश गरे । यी सबै फिल्महरूले राम्रो व्यापार गर्दै आफ्नो लगानी मात्र सुरक्षित गरिरहेका छैनन्, मुनाफामा समेत गएको बताए ।
उनले भने, ‘करिब ६२ वटा फिल्म रिलिज भए, तीमध्ये केही मात्र व्यावसायिक रूपमा असफल भए, बाँकी धेरैले लगानी उठाएका छन् । बिजनेशको हिसाबले पनि अरू वर्षको तुलनामा राम्रो भएको छ ।
बोक्सीको घर, १२ गाउँ, छक्कापञ्जा, ज्वाईसाब, अञ्जिला, पूर्णबहादुरको सारङ्गी यस्ता थुप्रै फिल्महरूले व्यासायीक हिसाबमा सफल भएर एकदमै राम्रो मुनाफामा गएका छन् । यसै गरी कति धेरै फिल्महरूले आफ्नो लगानी सेफ गरेको अवस्था छ २०८१ मा । यसै गरी धेरै फिल्महरूले लगानी उठाउन पनि सकेनन् । समग्रमा हेर्दाखेरि फिल्म इन्डस्ट्रीका लागि एकदमै सुखद वर्ष मान्नुपर्छ ।’
अन्तर्राष्ट्रिय बजारमा अझै चुनौती
शर्माका अनुसार अन्तर्राष्ट्रिय बजारमा नेपाली फिल्मको उपस्थिति बढ्दो क्रममा भए पनि वितरकहरूको सक्रियता अभाव अझै देखिने गरेको बताए । ‘संसारभर नेपाली फिल्म रिलिज हुने अवस्था छैन । अहिले पनि जोसँग सम्बन्ध छ, तिनकै फिल्म बाहिरका देशमा लाग्ने गरेका छन्, उनले भने, ‘अब यो क्षेत्रलाई व्यावसायिक मार्केटिङतर्फ लैजानु आवश्यक छ ।’
नयाँ अनुहारको उदय
यसै गरी उनले जुन कलाकार चलेको छ, उसको आम्दानी एकदमै राम्रो रहेको बताए । साथै उनले यस वर्ष प्रतिभाशाली नयाँ कलाकारसमेत चलचित्र क्षेत्रमा उदाएको बताए । शर्माले समीर भट्टको चर्चा गर्दै भने, ‘संसारभर नै के चलन छ भने जुन कलाकार चलेको छ, उसको आम्दानी एकदमै राम्रो छ । जो चलेको छैन, उनीहरूको अवस्था त्यति राम्रो नहोला, निरन्तर रुपमा कति कलाकारहरूलाई फिल्ममा देखेका हुन्छौँ, त्यो कलाकारहरूको आर्थिक अवस्था राम्रो भएकै छ । फिल्ममा नयाँ आउने क्षमतावान् मान्छेहरू छन् भने उसले पनि एक खालको स्थान बनाउन सक्छ । जस्तै समीर भट्टले आफ्नो छाप छोड्न सफल भएको देखिन्छ । यो हिसाबले यो वर्ष हामीले एउटा प्रतिभाशाली कलाकार पनि पाएका छौँ । अहिले जुन कलाकारहरूको माग छ, उनीहरूको अवस्था एकदमै राम्रो छ ।’
रणनीतिमा कमजोरी
शर्माले नेपाली फिल्म निर्माताहरूले एकै मितिमा धेरै फिल्म रिलिज गर्ने प्रवृत्तिबाट टाढा रहनुपर्नेमा जोड दिए । उनले बाहिर देशमा ठुला फिल्महरू कहिले पनि एउटै मितिमा रिलिज हुँदैनन् तर नेपालको निर्माता साथीहरूले यो कुरालाई कहिले पनि स्वीकार नगरेको बताए ।
उनले भने, ‘अर्को समस्या भनेको बाहिर देशमा ठुला फिल्महरू कहिले पनि एउटै मितिमा रिलिज हुँदैन तर नेपालको निर्माता साथीहरूले यो कुरालाई कहिले पनि स्वीकार गर्दैनन् । वैशाख १ गते एक दिन बिदा हुन्छ त्यसको लागि दुई वटा फिल्म बजारमा आएको छ, गएको दशैमा हेर्ने हो भने छसात वटा फिल्म थियो । यो पनि हाम्रो निर्माताहरूको कमजोरी हो जस्तो लाग्छ, राम्रो फिल्म जहिले पनि चल्छ, त्यसको लागि बिदा भए पनि केही फरक पर्दैन, नभए पनि पर्दैन ।
अब हाम्रो ध्यान राम्रो फिल्म बनाउनेतर्फ हुनुपर्छ । त्यसपछि बिदाको दिन मात्र फिल्महरू चल्छ भन्ने भ्रम हाम्रो हट्न सक्छ । बिदामा सामान्यतयाभन्दा अलिकति बढी हुनसक्छ तर त्यसले प्रभाव पार्दैन । यदि तपाईँको फिल्म सही छैन भने तपाईँले जस्तो बिदाको बेला निकाले पनि चल्दैन ।’
दर्शकको रोजाइ अनुसार बन्नुपर्छ
शर्माले भने, ‘दर्शकलाई राम्रो फिल्म चाहिएको हो, बिदाको मुखमा आएको फिल्म होइन । यदि फिल्म राम्रो छ भने बिदा होस् वा नहोस्, त्यो फिल्म चल्छ । यसको उल्टो पनि सत्य हो—फिल्म कमजोर भयो भने जति ठूलो बिदा भए पनि त्यो चल्दैन ।’
समग्रमा वर्ष २०८१ लाई अशोक शर्माले नेपाली फिल्म उद्योगको लागि ‘सुखद र सफल वर्ष’ को रूपमा हेरेका छन् । उनले भविष्यका लागि अझ व्यवस्थित र रणनीतिक सोचका साथ अघि बढ्न आग्रह गरे ।
यसै गरी उनले देशको आर्थिक मन्दी र सरकारी बेवास्ताले चलचित्र क्षेत्र गम्भीर दबाबमा परेको बताए । उनले क्रय शक्ति कमजोर हुँदै जाँदा फिल्म हलसम्म दर्शकको पहुँच घटेको बताए ।
‘कोभिड अघि एक वर्षमा ११० वटा फिल्म रिलिज हुन्थे तर अघिल्लो वर्ष त्यो संख्या घटेर ४९ मा झ¥यो,’ शर्मा भन्छन्, ‘यो स्पष्ट सङ्केत हो कि हाम्रो उद्योग आर्थिक सङ्कटसँग जुधिरहेको छ ।’
उनले सरकारप्रति गुनासो गर्दै भने, ‘सरकार सेवक होइन, मालिक बन्न खोजिरहेको छ । नीति निर्माणमा नागरिकको हित भन्दा सत्ताको सोच हाबी छ ।’
शर्माले चलचित्र क्षेत्रमा आवश्यक पूर्वाधारको गम्भीर अभाव रहेको बताए । ‘हामीसँग न त स्तरीय स्टुडियो छन्, न आधुनिक उपकरण, न त दक्ष जनशक्ति उत्पादन गर्ने संस्था,’ उनले भने, ‘यो रचनात्मक क्षेत्र हो, यहाँ ज्ञान, सीप र प्रविधिको आवश्यकता पर्छ ।’
उनका अनुसार, राज्यले अध्ययन, तालिम र प्रविधिका लागि अनुदानको व्यवस्था गर्नुपर्नेमा जोड दिएका छन् । ‘सरकारले चाह्यो भने धेरै सम्भव छ, तर जति प्रयास गरे पनि राज्यको ध्यान कहिल्यै फिल्मतर्फ जाँदैन, सरकारको साथ र सही नीतिगत हस्तक्षेप भएमा नेपाली सिनेमा अझ धेरै गुणस्तरीय बन्न सक्छ ।’
‘बोक्सीको घर’ बाट प्रारम्भ गरेको नेपाली फिल्म क्षेत्रले ‘कर्मा’ तथा ‘पीताम्बर’ नामक दुई ठुला फिल्मको प्रदर्शनसँगै वर्ष २०८१ लाई बिदाइ गरेको छ ।
नेपाल न्यूज बैंक