भारतमा नेपाली छात्राको मृत्युपछि नेपालस्थित भारतीय दूतावास अगाडि प्रदर्शन
|
Getting your Trinity Audio player ready...
|
काठमाडौँ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू)ले भारतमा नेपाली छात्राको मृत्युपछि नेपालस्थित भारतीय दूतावास अगाडि प्रदर्शन गरेको छ ।
सोमबार भारतीय विश्वविद्यालयमा नेपाली विद्यार्थीमाथि ज्यादती भएको भन्दै लैनचौरस्थित भारतीय दूतावास अगाडि प्रदर्शन गरिएको हो।
भारतको उडिसा राज्यको भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) को होस्टेलमा एक नेपाली छात्राले आत्महत्या गरेकी छन् । मृतक छात्रा रुपन्देहीको प्रकृति लम्साल रहेको बताइएको छ ।
सोही क्रममा अनेरास्ववियूका अध्यक्ष समिक बडालले प्रकृति लम्सालको हत्या भएको भनेर हत्यारालाई कारबाहीको अपिल गर्दै आन्दोलनमा रहेका नेपाली विद्यार्थीहरूलाई कलेज प्रशासनले निकाला गरेको भन्दै यस्तो कार्यको विरुद्ध आन्दोलनमा उत्रिएको बताए ।
उनले भने, ‘नेपाली विद्यार्थीले सुरक्षित रुपमा आफ्नो पढाई गर्न पाउनु पर्छ । प्रकृति लम्साल जसको हत्या भएको भनेर नेपाली विद्यार्थीहरूले त्यहाँ कलेज प्रशासनलाई हत्यारालाई कारबाही गर्नको लागि अपिल गर्दै गर्दा नेपाली विद्यार्थीहरूलाई कलेज प्रशासनले निकाला गरेको कुरा आएको छ । यस्तै गर्ने हो भने हामी पनि हातमा दही जमाएर बस्दैनौ भनेर जानकारी गराउनको लागि हामी यहाँ आएका छौ ।’
यसको साथै, उनले विश्वभर रहेका नेपालीहरूको साथ र सहयोग भारतमा रहेको त्यो प्रकृति लम्साललाई न्याय दिने आन्दोलनप्रति छ भन्ने सङ्केत दिनको लागि पनि दूतावास अगाडि आएको बताए ।








