बिटक्वाइनको मूल्य १ लाख अमेरिकी डलर नाघ्यो

Getting your Trinity Audio player ready...
|
पेन्सिल्भेनिया । बिटक्वाइनको मूल्य बिहीबार १ लाख ३ हजार अमेरिकी डलर पुगेको छ।
अघिल्लो दिनको तुलनामा यो ४.६७ प्रतिशतले बढेको हो। पछिल्लो एक महिनामा यसको मूल्य करिब ४७ प्रतिशतले वृद्धि भएको छ।
अमेरिकाका ४७औं राष्ट्रपति डोनल्ड ट्रम्पको हालैको घोषणाले क्रिप्टोकरेन्सी बजारमा थप उछाल ल्याएको छ।
ट्रम्पले सेक्युरिटिज एण्ड एक्स्चेन्ज आयोगको अध्यक्षमा क्रिप्टोमैत्री नीति समर्थक पल एटकिन्सलाई नियुक्त गर्ने योजना सार्वजनिक गरेपछि बिटक्वाइनको मूल्य झनै बढेको हो।
एटकिन्सलाई अध्यक्ष बनाउन लागेको खबरपछि क्रिप्टो लगानीकर्ताहरू उत्साहित भएका छन्। ग्यारी गेन्सलरको नेतृत्वमा क्रिप्टोमैत्री नीति र विकासमा ध्यान नदिएको भन्दै आलोचना भइरहेका बेला एटकिन्सले क्रिप्टोमैत्री नीति विकास गर्ने अपेक्षा गरिएको छ।
बिटक्वाइनका अलावा अन्य क्रिप्टोकरेन्सीको मूल्य पनि उकालो लागेको छ। इथेरियमको मूल्य ३,८९८ अमेरिकी डलर पुगेको छ, जुन एक महिनामा ६० प्रतिशतले बढेको हो।