विपद् : २३८ जना व्यक्तिका परिवारलाई आर्थिक राहत वितरण
काठमाडौं । अति भारी वर्षापछि आएको बाढी, पहिरो, र डुबानजस्ता विपद्का घटनामा परी मृत्यु भएका २३८ जना व्यक्तिका परिवारलाई आर्थिक राहत वितरण गर्ने कार्य गृह मन्त्रालयले सम्पन्न गरेको छ। प्रत्येक मृतकका परिवारलाई रु दुई लाखका दरले राहत वितरण गरिएको छ, जस अन्तर्गत हालसम्म २३ जिल्लाका परिवारहरूले राहत प्राप्त गरेका छन्।
गृह मन्त्रालयका प्रवक्ता सहसचिव ऋषिराम तिवारीका अनुसार सबैभन्दा बढी प्रभावित काभ्रेपलाञ्चोक जिल्लामा ७८ परिवारलाई राहत रकम प्रदान गरिएको छ भने बाँकी एक परिवारको प्रक्रिया पूरा हुन बाँकी छ। अन्य जिल्लाहरूमा पनि मृतकका परिवारलाई राहत रकम हस्तान्तरण गरिएको छ, जसमध्ये काठमाण्डौंमा १९, भक्तपुरमा ४, ललितपुरमा ४५, र विभिन्न अन्य जिल्लामा पनि राहत वितरण सम्पन्न भएको छ।
हालसम्म कुल रु ५ करोड ४६ लाख रकम राहत स्वरुप वितरण भइसकेको छ। केही मृतकका परिवारका हकदार पहिचानमा समस्या आएपछि ती परिवारलाई राहत वितरण कार्य रोकिएको छ। सरकारी निकायहरू र स्थानीय प्रशासन मृतकका परिवारसम्म पुगेर राहत रकम हस्तान्तरणमा सक्रिय छन्।
साथै, सरकारले प्रभावित पालिकाहरूलाई संकटग्रस्त क्षेत्र घोषणा गर्दै तीन महिनाका लागि रु ५० लाखदेखि १ करोडसम्मको राहत रकम उपलब्ध गराउने निर्णय पनि गरेको छ।














