‘पूर्ण बहादुरको सारङ्गी’को तेस्रो गीत ‘मैजारो’ सार्वजनिक

Getting your Trinity Audio player ready...
|
काठमाडौं । बहुप्रतिक्षित नेपाली चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’को नयाँ गीत ‘मैजारो’ शुक्रबार युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ। यो गीतका शब्द, संगीत र स्वर प्रशान्त शिवाकोटीले दिएका छन्।
गीतले मुख्य पात्रहरूको जीवनकथा प्रस्तुत गर्दै गन्धर्व समुदायको प्रेम, वियोग, बिछोड र पीडालाई समेटेको छ। भिडियोमा प्रमुख कलाकार विजय बराल (पूर्ण बहादुर), अञ्जना बराइली, र बलाकलाकार स्वायम् केसीको अभिनय रहेको छ।
गीतमा पूर्ण बहादुरलाई श्रीमतीले छाडेपछि गाउँमा सारङ्गी बजाउँदै आफ्नो पीडा सुनाइरहेको देख्न सकिन्छ। उनले मात्र पीडा सुनाउँदैनन्, सँगै रहेको सानो छोरोप्रतिको जिम्मेवारी पनि दर्शाउँछन्। यसले गीत र संवादमार्फत सिनेमाको कथा संकेत गरेको छ।
सारङ्गीको धुनमा प्रेम र पीडाको कथालाई कलात्मक रूपमा प्रस्तुत गरिएको छ। भिडियोमा पूर्ण बहादुरले आफ्नो छोरालाई सारङ्गी बजाउन सिकाउँदै गरेको दृश्यले पारिवारिक विरासत र जातीय पेसालाई देखाउने प्रयास गरेको छ।
यसअघि चलचित्रका अन्य दुई गीत ‘काँधेकुरी’ र ‘दाहिने हातैमा’ सार्वजनिक भइसकेका छन्।
सरोज पौडेलको लेखन र निर्देशनमा बनेको यो चलचित्र कात्तिक १५ गतेबाट प्रदर्शनमा आउँदैछ। यसमा विजय बराल, प्रकाश सपूत, मुकुन भुसाल, बुद्धि तामाङ जस्ता कलाकारको अभिनय छ।
‘पूर्ण बहादुरको सारङ्गी’ गन्धर्व समुदायको जीवन र सामाजिक समस्यामा केन्द्रित एक सामाजिक कथावस्तुमा आधारित चलचित्र हो। सेभेन सिज र बासुरी फिल्म्सको प्रस्तुति रहेको यस चलचित्रका निर्माता विनोद पौडेल र प्याट्रिक सुवेदी हुन्, जबकि कार्यकारी निर्माताहरू रमेश चौलागाईं, हरि श्रेष्ठ, र रमेश ढकाल रहेका छन्।
संगीतकार प्रशान्त शिवाकोटीले चलचित्रमा संगीत दिएका छन्, जसमा हेमन्त कान्छा रसाइलीको सारङ्गी र प्रशान्त शिवाकोटी, मेलिना राई, तथा पुष्पन प्रधानको स्वर रहेको छ।