सर्वोच्चका उपरजिस्ट्रारले बार अध्यक्षविरुद्धको अवहेलना मुद्दा फिर्ता लिने
काठमाडौं । सर्वोच्च अदालतका उपरजिस्ट्रार गोविन्द घिमिरेले नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेविरुद्ध दायर गरिएको अवहेलना मुद्दामा तयार पारेको प्रतिवेदन फिर्ता लिने घोषणा गरेका छन्।
बुधबार उनले फेसबुकमार्फत सार्वजनिक वक्तव्य दिँदै अब आफू कसैको प्यादा नबन्ने बताएका छन् र प्रधानन्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठको दबाबमा मुद्दा दर्ता गराउनु परेको संकेत पनि गरेका छन्।
उपरजिस्ट्रार घिमिरेले दशैं बिदापछि अदालत खुलेसँगै प्रतिवेदन फिर्ता लिने बताएका छन्। दशैंको बिदाका कारण घटस्थपनादेखि कोजाग्रत पूर्णिमासम्म अदालत बन्द रहनेछ। यस विषयको पेसी कार्तिक १ गतेका लागि तोकिएको छ।
बार एसोसिएसनको ठहर अनुसार बार अध्यक्ष घिमिरेले प्रधानन्यायाधीश श्रेष्ठका अनियमित र गैरसंवैधानिक गतिविधिहरूको आलोचना गरेपछि उनीविरुद्ध अवहेलना मुद्दा चलाइएको हो।
यसअघि उपरजिस्ट्रार घिमिरेले पत्रकार नवीन ढुंगानाविरुद्ध पनि अवहेलना मुद्दा दायर गराएका थिए, जसका कारण ढुंगानालाई जेल सजाय भइसकेको छ।
सामाजिक सञ्जालमा घिमिरेले ३६४ दिन कसैको प्यादा बनेर १ दिन स्वतन्त्र भएको अनुभवका रूपमा प्रधानन्यायाधीश श्रेष्ठको बिदाइलाई उल्लेख गरेका थिए । जुन वक्तव्यले उनको असन्तोषलाई उजागर गरेको छ।















