मेरील्याण्डको हिन्दु बौद्ध मन्दिरमा आयोजित महापुराणबाट दुई मिलियन (२० लाख) डलर उठ्यो

Getting your Trinity Audio player ready...
|
मेरील्याण्ड/ ‘आध्यात्मिक महोत्सव’ नाम दिइएको अमेरिकाको मेरील्याण्ड राज्यमा रहेको हिन्दु बौद्ध मन्दिरमा शनिवार सम्पन्न श्रीमद्भागवत सप्ताह ज्ञान महापुराणबाट दुई मिलियन (२० लाख) अमेरिकी डलर सङ्कलन भएको आयोजनको भनाइ छ।
सन् २०१७ सालमा स्थापना भएको मन्दिरमा दोस्रो पटक महापुराण लगाइएको हो। यस अगाडि सन् २०१८ मा पनि महापुराण लगाइएको थियो। दुवै पटक पण्डित दिनबन्धु पोखरेल मुख्य बाचक थिए।
यस पटक मार्च ३० तारिख देखि सुरु भएको महापुराणको अन्तिम दिन शनिवार (अप्रिल ६ तारिख) पाँच लाख ५३ हजार अमेरिकी डलर सङ्कलन भएको जनाइएको छ। महापुराणमा सबै भन्दा धेरै शुक्रवार सात लाख १९ हजार डलर उठेको थियो।
नेपाली अमेरिकन कल्चरल सेन्टर अफ बाल्टिमोर (एनएसीसी) हिन्दु बुद्ध मन्दिरका सचिव तरुण पौडेलले आफूहरूको लक्ष्य अनुसार नै रकम सङ्कलन भएको बताए।
‘हाम्रो लक्ष्य दुई मिलियन नै हो, १.५ सम्म त जसरी पनि उठ्छ भन्ने थियो, हामी सफल भयौ।’ समाज टाइम्स सँग पौडेलले भने।
सचिव पौडेलका अनुसार २० लाख प्रतिबद्धता मात्र हो, नगद नै कति जम्मा भयो भन्ने पुरा विवरण केही दिनमा सार्वजनिक गरिने छ। ‘हामीले प्रतिबद्धताको मात्र हिसाब गरेका हौ, त्यस मध्ये धेरै रकम जम्मा भइसकेको छ, कति रकम जम्मा भयो हामी केही दिनमा सार्वजनिक गर्छौ।’ उनले भने।
पौडेलका अनुसार यस अगाडि सन् २०१८ मा सम्पन्न महापुराणबाट १३ लाख प्रतिबद्धता भएकोमा दश लाख भन्दा बढी रकम मन्दिरको खातामा जम्मा भइसकेको छ।
‘त्यो बेलाको पनि धेरै रकम जम्मा भयो, केही बसाई सरे, केहीले अझै दिँदै छन्, यस पटक प्रतिवदता रकम पूर्ण रूपमा नै आउँछ भन्ने विश्वास छ।’
पौडेलका अनुसार यस पटक पनि महापुराणमा सबै भन्दा धेरै दान गर्नेमा मन्दिरका अध्यक्ष डा. श्याम कार्की नै रहेका छन्। उनले यस पटक एक लाख ५१ हजार डलर दिएका छन्। कार्कीले सन् २०१८ मा एक लाख एघार हजार डलर दान दिएका थिए।
त्यसका साथै कार्कीले अबको १२ वर्ष भित्रमा मन्दिरलाई दिने दान १२ लाख अमेरिकी डलर पुर्याउने छन्।
‘अबको १२ वर्ष भित्र म बाट मन्दिरले कुल १२ लाख डलर पाउने छ, अहिले म ७८ वर्षको भए यदि म ९० वर्ष भन्दा बढी बाँचे भने पनि १२ वर्ष भित्र सबै रकम दिने छु’ डा. कार्कीले समाज टाइम्स सँग भने, ‘ त्यो भन्दा अगाडि म र मेरी धर्म पत्ति रहेनौ भने हाम्रो शेख पछि हाम्रो नाममा रहेको सम्पत्तिबाट मन्दिरले लिनु भनेर कागज गरेको छु।’
सचिव पौडेलका अनुसार महापुराणमा मन्दिरलाई एक लाख अमेरिकी डलर भन्दा धेरै दान दिनेको सङ्ख्या पाँच पुगेको छ।
मन्दिरका अध्यक्ष कार्की पछि उपाध्यक्ष कृश घिमिरे धेरै दान गर्नेको सूचीमा छन्। रियल्टर घिमिरेले यस पटक एक लाख डलर दान दिएका छन्। यस अगाडि उनले ५५ हजार डलर दान गरेका थिए।
यस्तै नरेश केसीले, राजु पराजुली र ज्योति रानाभाटले पनि एक लाख भन्दा बढी दान गरेका छन्।
केसीले यस पटक ६० हजार र अघिल्लो पटक ५५ हजार दान गरेका थिए।
यस्तै गैर आवासीय नेपाली संघ एनआरएनए अमेरिका मेरील्याण्ड च्याप्टरका पूर्व अध्यक्ष राजु पराजुलीले पनि एक लाख ११ हजार दान गरेका हुन्। सचिव पौडेलका अनुसार शिव लिङ्ग रहेको मन्दिर वरिपरि रेलिङ (बार) लगाउनुका साथै टायल विच्छाउदाको सबै खर्च पराजुलीले बेहोरेका हुन्।
महापुराणबाट संकलित रकम मन्दिर परिषरमा विभिन्न निर्माण योजनामा खर्च गरिने छ।
महापुराणको अन्तिम दिनका थप तस्वीरहरु
र यो पनि…