एनआरएनए कुँवर समूहको साधारण सभा : जिम्मेवार भएर अघि बढ्न घलेको सुझाव

काठमाडौं । गैर आवासीय नेपाली संघ एनआरएनको विनोद कुँवर समूहले साधारणसभा काठमाडौंमा गरेको छ । दशौं महाधिवेशनका बेला विवाद भएपछि त्यतिबेला शेष घलेको समर्थनमा कुवँर समूह जन्मिएको थियो ।
सोही समूहले काठमाडौंमा गरेको साधारणसभामा सरोकार राख्ने परराष्ट्र मन्त्रालयका प्रतिनिधिहरुको उपस्थिति नै थिएन । यसैगरी तीन वटा नगरपालिकाका मेयरहरुलाई उपस्थित गराइएको कार्यक्रममा विभिन्न परियोजनामा हस्ताक्षर पनि भएको छ ।
खासगरी रुकुम पश्चिमको आठवीसकोट नगरपालिका, जाजरकोटको भेरी नगरपालिका र काठमाडौं तारकेश्वरका मेयरको उपस्थिति रहेको थियो ।
आठवीसकोट र भेरी नगरपालिकामा भूकम्प पछिको पुननिर्माणको काम गर्ने विषयमा सम्झौता हुँदा तारकेश्वर नगरपालिकामा मोनोरेल सञ्चालन गर्ने सम्झौता भएको हो ।
कार्यक्रममा प्रमुख अतिथि तथा एनआरएनएका पूर्व अध्यक्ष डा. शेष घलेले अहिले आफूहरुले नयाँ काम गरेको बताए । अहिले पनि नागरिकता लगायतका विषयमा समस्या रहेको बताउँदै समाधानका लागि सबै मिलेर अघि बढ्नु पर्नेमा जोड दिए ।
यसैगरी आफूहरु जिम्मेवार भएर अघि बढ्नु पर्ने कुरामा प्रष्ट रहेको उल्लेख गर्दै लगानी मैत्री वातावरण बनाउनका लागि सरकारसँग आग्रह गरे । आफूहरुले नगरपालिकासँग मिलेर काम गर्नका लागि विभिन्न सम्झौता गरेको बताउँदै आउँदा कार्यक्रममा अझ बढी स्थानीय निकायका जनप्रतिनिधिसँग सहकार्य गर्ने प्रतिवद्धता जनाए ।
यसैगरी पूर्व उपाध्यक्ष सोनाम लामाले युनाइटेड नेपाली डायस्पोरा अर्गनाइजेसन यूएनडीओ का विषयमा कोही पनि अन्यौलमा नपर्न आग्रह गर्दै सबै गैर आवासीय नेपालीहरुको संस्थाको रुपमा त्यसले काम गर्ने बताए ।
आठविसकोट नगरपालिकाका मेयर रवि केसीले विदेशमा बस्ने नेपालीहरुबाट यहाँ बस्ने नेपालीले ठूलो अपेक्षा राखेको बताउँदै भूकम्प पछिको पुननिर्माणमा सहयोग हुने अपेक्षा गरे । यसैगरी समूहका अध्यक्ष कुवँरले सबैलाई मिलाएर अघि बढ्नका लागि आफू सधैं तयार रहेको बताए ।
कुवँर समूहले महाधिवेशन गर्ने गरी साधारणसभा आयोजना गरे पनि यसअघि नै यो समूहले दर्ता गरेको मुद्दा सर्वोच्च अदालतमा विचाराधिन रहेको छ । सर्वोच्चमा कुवँर समूहले आफूलाई एनआरएनएको आधिकारिकता दिन माग गर्दै निवेदन दिएको थियो । परराष्ट्र मन्त्रालयमा पनि दशौं अधिवेशनपछि अध्यावधिक गर्नका लागि निवेदन दिँदा परराष्ट्रले कुनै निर्णय गरेको थिएन ।
त्यसपछि कुवँर समूह सर्वोच्च अदालत गएको थियो । सर्वोच्च अदालत जाँदा कुँवर समूहले आफूहरु आधिकारिक भएको र अरु तीन जना अध्यक्ष भएर चलाएको एनआरएनए अवैधानिक भएको माग दावी गरेको छ । उक्त मुद्दामा बहस सकिएको छ भने फैसलाको मिति पनि तोकिएको छ । चैत २० गते फैसला गर्ने मिति तोकिएको छ । बहस नोट चैत ६ गतेसम्म बुझाउन सर्वोच्चकी न्यायाधीश सपना मल्ल प्रधान र नहकुल सुवेदीको संयुक्त इजलासले आदेश दिएको थियो । फैसला आउने मिति नै तोकिए पछि अहिलेलाई साधारणसभा मात्रै गरिएको हो । सर्वोच्चको फैसला पछि चुनावी साधारण सभा फेरि हुने छ ।