नेपाल भन्छन्, ‘ एमालेको कुनै भविष्य छैन ’
काठमाडौं / नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमाले अब पार्टी नभएर पाटी पौवामा परिणत भइसकेको टिप्पणी गरेका छन् । नेपालले त्यस पार्टीको कुनै भविष्य नरहेको दाबी गरेका छन् ।
पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले अब मुलुकको नेतृत्व नेकपा एसले गर्ने बताए । उनले नेकपा एसले क्रान्तिकारी धारको नेतृत्व गरेको बताए ।
नेपालले भने,‘ यो पार्टीको शक्ति र सामर्थ्य बढिरहेको छ । एमाले त पाटी पौवा भइसक्यो । दिन दिनै विभिन्न पार्टीहरू हामीसँग एकता गर्दै छन् । भोलि नै जनमोर्चा नेपालसँग एकीकरण हुँदै छ । त्यसपछि समाजवादी पार्टी लोहियावादीसँग एकता हुँदै छ । २० हजारदेखि २ लाखसम्म भोट ल्याउने पार्टीहरू हामीसँग मिल्दै छन् । ’
अध्यक्ष नेपालले आउने सबै चुनावमा काँग्रेस सहितका दलहरूबिच गठबन्धन हुने समेत बताए । सभापति शेरबहादुर देउवाले नै गठबन्धन हुन्छ भनी सकेकाले अब ढुक्क भएर चुनावको तयारीमा लाग्न उनले कार्यकर्तालाई आग्रह गरे ।














