लोक सांस्कृतिक मेलामा अनुभव साटासाट
काठमाडौं । नेपाली लोक संस्कृतिको संरक्षण तथा प्रवर्धन गर्ने उद्देश्यले आयोजित १२ औं अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेलाको दोस्रो दिन कलाकारले आ–आफ्ना लोक कला संस्कृतिको अनुभव साटासाट गरेका छन् ।
एभरेष्ट नेपाल कल्चरल ग्रुपको आयोजनामा शुक्रबारदेखि सुरु भएको उक्त मेला फागुन २७ गतेसम्म सञ्चालन हुनेछ । मेलाले नेपालको पर्यटन र संस्कृति प्रवर्धनको क्षेत्रमा महत्वपूर्ण रहने विश्वास आयोजकको छ ।
महोत्सव काठमाडौं, दाङ, पोखरा र ललितपुर जस्ता पर्यटकीय तथा ऐतिहासिक क्षेत्रमा हुन गइरहेको छ ।
मेलामा अष्ट्रिया, बेल्जियम, बोत्सवाना, इस्टोनिया, जर्मनी, भारत, इन्डोनेशिया, मलेसिया, पोल्याण्ड, दक्षिण अफ्रिका र नेपालसहित विभिन्न राष्ट्रका विभिन्न सांस्कृतिक समूहका ३ सय ५० भन्दा बढी कलाकारहरु सहभागी छन् ।
मेला २०५८ देखि २÷२ वर्षको अन्तरालमा नियमित आयोजना हुँदै आएको छ ।
सुरुदेखि एघारौं संस्करणसम्म मेलामा ८५ भन्दा बढी देशका ८ हजार ५ सयभन्दा बढी कलाकारहरुले घरआँगनमा आ–आफनो देशको मौलिकता झल्कने झाँकीसहित विविध लोकसांस्कृतिक कार्यक्रम प्रस्तुत गरिसकेको आयोजकले जनाएका छन् ।














