‘स्काउटमा नयाँ शिराबाट अगाडि बढ्ने प्रक्रियाको प्रारम्भ’
काठमाडौं । युवा तथा खेलकुद मन्त्री डिग बहादुर लिम्बुले नेपाल स्काउट नयाँ शिराबाट अगाडि बढ्ने प्रक्रियाको प्रारम्भ भएको बताएका छन् ।
आइतबार काठमाडौंमा आयोजित नेपाल स्काउट राष्ट्रिय परिषद् बैठकमा बोल्दै मन्त्री लिम्बुले गत माघ २७ गते परिषद्मा निर्वाचित भएर आएका पदाधिकारीलाई बधाई दिँदै नेपाली स्काउटको इतिहासलाई अगाडि बढाउने बारे सोच्न आग्रह गरे ।
उनले भने,‘ नेपाल स्काउट आजबाट नयाँ शिराबाट अघि बढ्ने प्रक्रिया सुरु भएको छ । गत माघ २३ गते भएको परिषद्को निर्वाचनमा सर्वसम्मत निर्वाचित भएर आउनुभएका सबैलाई बधाई ज्ञापन गर्दछु । स्काउटको माध्यमबाट स्वयंसेवी भावनाको विकास गरी युवाहरूलाई के, कसरी सकारात्कमक दिशामा डोर्याउन सकिन्छ भन्नेबारे सोच्नुहोला । कयौं साथीहरूलाई अनुभव छँदै छ ।’
मन्त्री लिम्बुले निर्वाचन आफँैमा जटिल प्रक्रिया भएको भन्दै जितेकाहरुले हारेका साथीहरूलाई समेत सँगै लिएर अगाडि बढ्न आग्रह गरे ।
सहर केन्द्रित रहेको स्काउट पछिल्लो समय गाउँमा समेत विस्तार भएको भन्दै मन्त्री लिम्बुले भने, ‘मेचीदेखि महाकालीसम्म स्काउटलाई कसरी लग्न सकिन्छ । नयाँ शिराबाट कसरी लग्न सकिन्छ । सहरमा मात्र सीमित भएको स्काउट अहिले गाउँगाउँसम्म पुग्न थालेको छ । देशभरका विद्यालयमा कार्यक्रम गरेर स्काउटको बारेमा सन्देश दिनुहुनेछ भन्ने विश्वास लिएको छु ।’
स्काउटको विकासका लागि सरकार सधैँ तयार रहेको भन्दै मन्त्री लिम्बुले फागुन अन्तिमसम्म स्काउटको संशोधन विश्वास दिलाए ।














