दुई वर्ष पछि कराते खेलाडी अनुको कम ब्याक,अमेरिकामा जितिन स्वर्ण पदक
न्यु योर्क/ चोटका कारण दुई वर्ष पछि प्रतिस्पर्धामा फर्किएकी साग स्वर्ण विजेता कराते खेलाडी अनु अधिकारीले अमेरिकामा भएको एक प्रतियोगितामा स्वर्ण पदक जितेकी छिन्।
न्यु जर्सीमा आइतबार भएको गार्डेन स्टेट इन्टरनेश्नल च्याम्पियनसिपमा अनुले अमेरिकी खेलाडीलाई हराउँदै स्वर्ण जितेकी हुन्।
अनुले १८ वर्ष माथिको इन्टरमिडियट एडभान्स डिभिजनको कुमिते तर्फ प्रतिस्पर्धा गरेकी थिइन। मोनमाउथ कराते एकेडेमीद्वारा आयोजित प्रतियोगिता न्यु जर्सी स्थित जर्जियन युनिभर्सिटीको हलमा भएको थियो।
प्रतियोगितामा न्यु जर्सी, न्यु योर्क सहित विभिन्न राज्यका गरी तीन सय ५० भन्दा बढी खेलाडीले भाग लिएका थिए।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीको सहभागिता रहेको प्रतियोगितामा विश्व कराते महासंघको रेफ्री तथा अमेरिकी कराते महासंघको रेफ्री कमिसन प्रमुख क्लीवलैण्ड बक्स्टरको निर्देशनमा ३० जना राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रेफ्रीहरूले ६ वटा रिङमा तातामीमा बिहान ९ बजे देखी बेलुकी ६ बजे सम्म संचालन गरेका थिए।
रेफ्री टोलीमा नेपाली रेफ्रि तथा प्रशिक्षक शान्त थोकर पनि थिए। उनी अमेरिकामा कराते स्कुल संचालन गर्ने पहिलो नेपाली हुन्।
युएस ओपन खेल्ने लक्ष्य बनाएकी अनु विगत तीन महिना देखि अमेरिकाको न्यु योर्क स्थित आईएमए निहोन कराते डो मा आबद्ध रहँदै प्रमुख प्रशिक्षक शान्त थोकर सँग प्रशिक्षणरत छिन।
‘टप फाइट नै भयो, प्रतियोगितामा राम्रा खेलाडी आएका थिए।’ दुई साग र दुई एसियाडको अनुभव बटुलेकी अनुले समाज टाइम्स सँग भनिनन्। ‘यसलाई युएस ओपनको लागि यो प्रतियोगिता वाम अप भन्दा हुन्छ।’
दुई वर्ष अगाडी पोखरामा भएको नवौँ राष्ट्रिय खेलकुदमा बोकेको चोट पछि अनु पहिलो पटक प्रतिस्पर्धामा उत्रिएकी हुन्।
नवौँ राष्ट्रिय खेलकुदमा पुलिस खेलाडी अर्मला डिसी सँग फाइनलमा खेल सकिनासाथ अनुलाई चोट लागेको थियो। त्यस पछि बीएण्डबी अस्पतालमा उनको उपचार भएको थियो।
‘बिचमा अलिक ग्याप पनि भएको थियो, एकै पटक बृहत प्रतियोगितामा जानु भन्दा वाम अप पनि होस भनेर यो प्रतियोगितामा खेलेकी हुँ।’ अनुले भनिन्।
उनले मार्च दश तारिख न्यु योर्कमा हुने खुल्ला इजीएन अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा पनि चुनौती पस्कने बताएकी छिन्।
‘निश्चय पनि त्यो प्रतियोगिताले मलाई अझ तिखार्ने छ, मेरो पुरानो लय समाउन सहयोग गर्ने छ।’ अनुले भनिनन्।
युएस ओपन मार्च अन्तिम साता टेक्ससमा हुँदै छ।















