वैदेशिक रोजगारीमा रहेका युवाको असन्तुष्टि र कांग्रेसको आत्म समीक्षा
काठमाडौँ / नेपाली कांग्रेसका महामन्त्री विश्व प्रकाश शर्माले वैदेशिक रोजगारीमा रहेका युवाको असन्तुष्टिमा कांग्रेसले आत्म समीक्षा गर्नु पर्ने प्रस्ताव गरेका छन्।
सोमवार देखि ललितपुरको गोदावरीमा शुरु हुने पार्टीको महासमिति बैठकमा पेस गर्ने आफ्नो प्रस्तावमा महामन्त्री शर्माले वैदेशिक रोजगारी र युवाहरूको असन्तुष्टिलाई समेटेका हुन्।
महासमिति बैठक अगाडि महामन्त्री शर्माले प्रस्तावलाई अन्तिम रूप दिन केन्द्रीय समिति बैठकमा पेश गरेका हुन्।
समाज टाइम्सले प्राप्त गरेको महामन्त्री शर्माको प्रस्तावको मुख्य अंश
वैदेशिक रोजगारी कुनै पनि युवाको खुशीको प्रथम छनौट निश्चय नै होइन । तर जनसंख्याको विस्फोटक आकार बन्दै गएको देश, जहाँ कहिले राजनैतिक अस्थिरता त कहिले दशक लामो हिंसात्मक द्वन्द्व छ । जहाँ रोजगारीको पर्याप्त विकल्प विकसित भएको छैन । कल्पना गरौँ त त्यस्तो समयमा वैदेशिक रोजगारीको ढोका पनि बन्द गरिन्थ्यो भने अवस्था कस्तो हुन्थ्यो होला ? त्यसैले कतिपय आलोचना सहेर पनि कांग्रेस नेतृत्वको सरकारले त्यसमा सहजीकरण गर्यो ।
हिंसात्मक द्वन्द्व कालमा मानवीय क्षतिसँगै अर्बौँको आर्थिक क्षति भयो, ०७२ को भूकम्पले खर्बौँको क्षति गयो अनि पछिल्लो समय कोरोनाको महामारीसम्म आइपुग्दा अर्थतन्त्रमा झनै प्रतिकुलता थपियो । त्यस बाबजुद देशको अर्थतन्त्र धराशायी हुनबाट जोगिएको छ । देश ती तमाम युवाप्रति नतमस्तक छ, जसले परदेशमा रहेर आफ्नो परिवारलाई भरथेग गरेको मात्रै होइन, तिनले देशको अर्थतन्त्र रक्षाका लागी पसिना बगाएका छन् ।
पढाई र रोजगारीका लागि एउटा देशबाट अर्को देशसम्म पुग्ने चित्र अहिलेको संसारको आमप्रवृत्ती हो। छिमेकी दुई मित्रराष्ट्र भारत र चीन जो विकासका दृष्टिले नेपाल भन्दा धेरै अघि छन्, बाह्य संसारको रोजगारीमा पनि हामीभन्दा उनीहरुनै अघि छन् । उनीहरूकै संख्या बढी छ । मध्यपूर्वका देशहरूमा भारत, पाकिस्तान, बङ्गलादेश र फिलिपिन्सका नागरिकहरूको ठुलो संख्या हाम्रा युवाहरूसँगै कार्य गरिरहेको छ। यसले पुष्टि गर्छ वैदेशिक रोजगारीको बाध्यता नेपालको मात्रै पिडा होइन ।
वैदेशिक रोजगारी हाम्रो स्थायी समाधानको लक्ष्य र गन्तव्य होइन । तर तत्कालै रोक्न सकिन्छ भन्ने सस्तो लोकप्रियताको पनि अर्थ छैन । तत्कालै रोक्ने या यसलाई मर्यादित बनाउने भनेर जनमत सङ्कलन गर्ने हो भने मर्यादित बनाउने पक्ष मानै जनमत प्रकट हुने देखिन्छ । अतः एक, यसलाई श्रम शोषणबाट मुक्त र मर्यादित कसरी बनाउने । दुई, हाम्रा युवालाई अदक्ष कामदारका रूपमा न्यून पारिश्रमिक पाउने स्थितिबाट दक्ष एवं आकर्षक पारिश्रमिकको स्थिति कसरी सम्भव बनाउने । तीन, उनीहरूको आयको निश्चित अंशलाई मासिक रूपमा उनीहरूकै या परिवारको सदस्यका नाममा देशभित्रको जलविद्युत उत्पादन या अन्य सुनिश्चित मुनाफाको क्षेत्रमा लगानी व्यवस्थापन कसरी गर्ने । यो बाध्यताको बाटोलाई मर्यादित व्यवस्थापन गर्ने निश्चित केही वर्षको बाध्यात्मक विकल्प बारे सबै थरी साझा ढङ्गले स्पष्ट हुन जरुरी छ ।















