अब बालाजु जलाधार क्षेत्रबाट तीन करोड लिटर पानी जमिनमुनि पठाइने
काठमाडौँ । बालाजु पार्कको जलाधार क्षेत्रबाट वार्षिक करिब ३ करोड लिटर (३० हजार किलोमिटर) पानी पुनःभरण हुने प्रणाली निर्माण गरिएको छ । यो बर्खामा आकाशबाट परेको पानी जमिनमुनि पठाउने प्रणाली हो ।
काठमाडौँ महानगरपालिकाले कोकाकोला वेभरेज नेपाल, सेन्टर फर इन्टिग्रेटेड अर्वन डेभलपमेन्ट र वाटर एड नेपालसँगको सहकार्यमा सो प्रणाली विकास गरेको हो ।
रिचार्ज प्रणालीमा २१ वटा फिल्टर च्याम्बर, २१ वटै रिचार्ज इनार, दुईवटा डिसिल्टिङ चेम्बर,७५ फिट अग्लो रिचार्ज ट्रेन्च र सात वटा बाँसका चेक ड्याम बनाइएको छ ।
निर्माण साझेदारले संयुक्त रूपमा सो प्रणाली त्यसको सञ्चालन गर्ने विधि समेटिएको पुस्तिका महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोललाई शुक्रवार हस्तान्तरण गरे ।
परियोजनाबारे बुझिसकेपछि उपप्रमुख डङ्गोलले, बालाजु क्षेत्रमा पानीको प्राकृतिक बहाव बढ्ने अपेक्षा व्यक्त गरिन ।
उनले भनिन्,‘सहरमा पानीको अभाव छ । बर्खाको पानी बगेर खेर जान्छ । हिउँदमा पानीको अभाव आउँछ । यसलाई सन्तुलन गर्न पानी पुनःभरण प्रणालीको प्रवर्धन गरिरहेका छौँ ।’ उनले थपिन, ‘काठमाडौँमा सबैभन्दा धेरै पानीको अभाव हुने क्षेत्रका खुला ठाउँबाट पानी पुनःभरण प्रणाली विकास गर्ने अबको हाम्रो योजना हो ।’
यस्तै, वाटर एडका नेपाल निर्देशक जेसम थोमस,बोटलिङ् इन्भेस्टमेन्ट ग्रुपका स्टेफिन यिपले स्वच्छ पानीको पहुँच बढाउन साझेदारीका थप काम गर्न सकिने धारणा राखे ।
सेन्टर फर इन्टिग्रेटेड अर्वन डिभलपमेन्टका कार्यकारी निर्देशन नवीन महर्जनले,पानी पुनःभरणका कार्यक्रम बढाउन थालेपछि सामाजिक सचेतना र सहभागिता बढ्ने अपेक्षा व्यक्त गरे ।
तीव्र सहरीकरणका कारण बढ्दै गएको पानीको चरम अभाव कम गराउन यस प्रकारका प्रयासले समुदायले दायित्व लिँदै जाने अपेक्षा गरिएको छ ।
परम्परागत रूपमा काठमाडौंबासीले पानीका प्रमुख स्रोतका रूपमा भूमिगत जल नै प्रयोग गर्ने गरेका थिए । राजकुलो र पोखरीबाट पानी पुनःभरण हुने गर्थ्यो । जमिनमा जम्मा भएको पानी तल जान सक्थ्यो । पछिल्लो समयमा अत्यधिक भूमिगत पानी दोहन हुन थाल्यो । अव्यवस्थित भवन निर्माण र सडकले सतहको पानी जमिनमुनि पस्न पाएको छैन ।
जलवायु परिवर्तनका कारण वर्षा हुने समय र मनसुनी प्रक्रियामै पनि निकै परिवर्तन गर्दै लगेको छ । पछिल्लो समय अतिवृष्टि र खण्डवृष्टि हुन थालेको छ,जसले छोटो अवधिमा अधिक पानी पर्ने त कतै पानी नै नपर्ने अवस्था देखिएका छन् । यी सबै चुनौतिकोबीचमा खानेपानीको पुर्न भरण उपतयका जस्ता ठुला सहरमा अत्यावश्यक जस्तै भएको छ । प्राकृतिक रूपमा पानी पुनः भरणमा महानगरपालिकाले जोड दिएको छ ।















