के अभिनेत्री ईशा मालिनीले सम्बन्ध विच्छेद गरेकी हुन् ?
मुम्बई । बलिउडमा धर्मेन्द्र र हेमा मालिनीलाई आदर्श जोडीका रूपमा चिनिन्छ । यो जोडीले आफ्नो करियरमा कैयौँ हिट फिल्म दिएका छन् । आमाबाबुको पाइला पछ्याउँदै फिल्म क्षेत्रमा आएकी छोरी ईशो भने आमाबाबुको जस्तो लोकप्रियता पाउन सकिनन् । यही बिचमा ईशा र उनका पति भरत तख्तानीबीच सम्बन्ध विच्छेद भएको खबर सार्वजनिक भएको छ ।
ईशा र भरतले आधिकारिक रूपमा यो कुराको पुष्टि नगरे पनि सामाजिक सञ्जालमा उनीहरू अलग्गिएको खबरले सामाजिक सञ्जाल गर्माएको छ । ईशा र भरतले विवाह गरेको १२ वर्ष पुगेको छ । उनीहरूको दुई छोरी छन् ।
ईशा र भरत अलग भएको दाबी एक रेडिट यूजरले गरेका छन् । ‘ईशा देओे आफ्नो पतिसँगको तस्बिर सामाजिक सञ्जालमा शेयर गर्न बन्द गरेकी छन् । ईशा अहिले अधिकांश समय आमा हेमा मालिनीसँग देखिने गरेकी छन्,’ ती युजरले लेखेका छन् ।
यद्यपि ईशा र भरत अहिले पनि सामाजिक सञ्जालमा एक अर्कालाई फलो गरिरहेका छन् । दुवैले अलग भएको आधिकारिक घोषणा गरेका छैनन् । रेडिट युजरको पोस्ट भाइरल भएपछि सर्वसाधारणले प्रतिक्रिया दिन सुरु गरेका छन् ।
‘उनी दिवाली पार्टीमा पनि एक्लै देखिएकी थिइन् । यसअघि उनी जहिल्यै भरतका साथ पार्टीमा सहभागी हुन्थिन्’ एक प्रयोगकर्ताले लेखेका छन् । अर्का प्रयोगकर्ताले हेमा मालिनीको जन्मदिनमा भरत नदेखिएको दाबी गरेका छन् ।
ईशाले गत नोभेम्बर २ मा आफ्नो जन्मदिन मनाएकी थिइन् । त्यो जन्मदिनमा पति भरत उपस्थित थिएनन् । ईशा र भरतले सन् २०१२ मा विवाह गरेका थिए । उनीहरूको एक छोरीको जन्म सन् २०१७ मा अर्की छोरीको जन्म सन् २०१९ मा भएको थियो ।















