‘उपलब्धिहरू गुम्नसक्नेतर्फ सचेत हुनुपर्छ’
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानले पहिचान र अधिकारका क्षेत्रमा धेरै अधिकारहरू संस्थागत गरेको बताएका छन् ।
सोमबार काठमाडौँको टुँडिखेलमा आयोजित थारू समुदायको माघी पर्वलाई सम्बोधन गर्दै उनले प्राप्त अधिकारको रक्षा गर्दै थप अधिकारका निम्ति सबैले रचनात्मक भूमिका खेल्नुपर्ने बताए ।
वर्तमान संविधान राजनीतिक सन्तुलन र सहमतिको दस्ताबेज भएको कुरामा जोड दिँदै उनले अधिकारको रक्षा र सुदृढ नगर्दा वर्तमानका उपलब्धिहरूसमेत गुम्नसक्नेतर्फ सबै सचेत हुनुपर्ने बताए ।
‘नेपालको संविधान देशमा विद्यमान राजनीतिक शक्तिहरूको सन्तुलन र सम्झौताको दस्ताबेज भएका कारण उत्पीडित वर्ग, जाति, क्षेत्र, लिङ्ग र समुदायका महत्त्वपूर्ण मागहरू सम्बोधन भए पनि संविधानमा सम्पूर्ण अधिकार न्यायोचित ढङ्गले व्यवस्था गर्न सकिएको छैन,’ उनले भने, ‘यसका लागि प्राप्त अधिकारको रक्षा र सुदृढीकरणसहित थप अधिकारका निम्ति रचनात्मक पहल लिन आवश्यक छ ।’
नेपालको राजनीतिक आन्दोलनमा थारू समुदायको योगदान महत्त्वपूर्ण रहेको उनको भनाइ छ ।
उनले भने, ‘देशमा प्रजातन्त्रको स्थापना, निरङ्कुश एकदलीय पञ्चायती व्यवस्थाको अन्त्यका निम्ति मात्रै होइन, निरङ्कुश एवं सामन्ती राजतन्त्रको अन्त्य र सङ्घीय लोकतान्त्रिक गणतन्त्र प्राप्तिको आन्दोलनमा तपाईँहरूको ठुलो संघर्ष र बलिदान छ ।’














