सशस्त्र प्रहरी बलले राष्ट्रव्यापी कविता प्रतियोगिता गर्नेे
काठमाडौँ/ सशस्त्र प्रहरी बलले आफ्नो २३ औँ वार्षिकोत्सवको अवसर पारेर राष्ट्रव्यापी कविता प्रतियोगिता गर्ने भएको छ।प्रतियोगितामा सहभागी हुन इच्छुक सवैमा २०८० पुस २९ गते भित्र सशस्त्र प्रहरी बल, नेपालको कार्यादेशसँग सम्बन्धित रहेर तीन सय शब्दमा नबढाई apfspokesperson@gmail.com मा प्राप्त हुने गरी कविता पठाउन हुन अनुरोध गरिएको छ ।
कविता लेखन तथा वाचन प्रतियोगितामा सहभागी प्रतियोगीहरूमध्ये उत्कृष्टमा परेका १० जनाहरूले माघ ५ गते सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा कविता वाचन गर्ने छन् ।
प्रतियोगितामा सहभागी हुनेले सशस्त्र प्रहरी बल, नेपालको कार्यादेशहरू नेपालको कुनै भागमा भएको वा हुन सक्ने सशस्त्र संघर्ष नियन्त्रण गर्न, सशस्त्र विद्रोह वा पृथकतावादी गतिविधि नियन्त्रण गर्नका विषयमा लेख्नु पर्ने छ।
सशस्त्र प्रहरी नायव उपरीक्षक सहायक प्रवक्ता शैलेन्द्र थापाद्वारा जारी विज्ञप्ति अनुसार कविता आतङ्ककारी गतिविधि नियन्त्रण गर्न, दङ्गा नियन्त्रण गर्न, दैवी प्रकोप र महामारीबाट पीडितको उद्धारमा सहयोग पुर्याउने हुनु पर्ने छ।
यस्तै नेपालको कुनै नागरिक वा अरू कसैलाई अपहरण गरिएमा अपहरित व्यक्तिको उद्धार गर्न वा अन्य कुनै किसिमको जघन्य तथा गम्भीर अपराध घटेमा वा गम्भीर प्रकृतिको अशान्ति भएमा वा हुने आशङ्का भएमा त्यसलाई नियन्त्रण गर्न, नेपालको सीमा सुरक्षा गर्न, बाह्य आक्रमणको अवस्थामा नेपाली सेनाको मातहतमा रही सहयोग गर्न, नेपाल सरकारले तोकेको सार्वजनिक महत्वका भवन, संरचना र अन्य स्थल आदिको सुरक्षा गर्ने खालको हुनु पर्ने छ।
नेपाल सरकारले सुरक्षा दिनु पर्ने ठहर्याएका व्यक्ति र तोकेको संस्था आदिको सुरक्षा गर्न, सशस्त्र प्रहरी बल नेपालको ऐन र ऐन अन्तर्गत बनेको नियममा उल्लेख भएका वा अन्य प्रचलित कानुन बमोजिम तोकिएका कार्यहरू गर्न, नेपाल सरकारले समय समयमा तोके बमोजिमका अन्य कार्यहरू गर्न, नेपाल सरकार मन्त्रिपरिषद्को २०६९ असोज ११ गतेको निर्णयअनुसार राजश्व, भन्सार तथा औद्योगिक सुरक्षा गर्न र २०७७ पौष १५ गतेको निर्णयअनुसार रेलवे सुरक्षा गर्न अन्तर्गत रहेर कविता लेख्नुपर्ने छ ।
प्रतियोगितामा प्रथम पुरस्कार रु. ५०,०००।-, द्वितीय पुरस्कार रु. ३०,०००।-, तृतीय पुरस्कार रु. १५,०००।- र उत्कृष्टमा परेका ७ सात जना प्रतियोगीहरूलाई समेत जनही रु. ७,०००।- नगद तथा प्रमाणपत्र प्रदान गरिने विज्ञप्तिमा जनाइएको छ ।















