एनआरएनए छैटौँ फारवेष्ट पशुपति कपको उपाधि स्टार सिटीलाई

धनगढी / एनआरएनए छैटौँ फारवेष्ट पशुपति कप २०८० को उपाधि साबिक विजेता स्टार सिटी युवा क्लब धनगढीले जितेको छ । धनगढी शनिवार रङ्गशालामा भएको फाइनल खेलमा ईलाईट युवा क्लब कैलारी गाउँपालिका वडा नम्बर ६ वनकट्टालाई ३–२ ले हराउँदै लगातार दोस्रो पटक स्टार सिटी च्याम्पियन भएको हो । फारवेष्ट पशुपति युवा क्लबको आयोजनामा धनगढीमा भएको प्रतियोगिताको रोमाञ्चक फाइनल खेलमा पहिलो हाफमा चार गोल भएको हो भने दोस्रो हाफमा एक गोल मात्रै भएको हो ।
पहिलो हाफको ९ मिनेटमा पेनाल्टी मार्फत गोल गर्दै स्टार सिटीले अग्रता बनायो । ईलाईटका खेलाडीले फल गरेपछि पाइएको पेनाल्टीलाई क्षितिज भण्डारीले गोलमा परिणत गरे । पहिलो हाफकै २६ मिनेटमा ईलाईटले खेल बराबरीमा ल्यायो । स्टार सिटीका खेलाडीले डिवक्सभित्र फल गरेपछि प्राप्त पेनाल्टीलाई ईलाईटका विदेशी खेलाडी नोग्नाउ नोग्नाउले गोल गरे । एक एकको बराबरीमा रहेको अवस्थामा पहिलो हाफकै ३९ औँ मिनेटमा ईलाईटका विनोद केसीले गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाए । तर त्यो अग्रता ३ मिनेटभन्दा बढी समय टिक्न सकेन । पहिलो हाफको ४१ औँ मिनेटमा स्टार सिटीका लागि प्रदीप लामाले गोल गर्दै खेलाडीलाई २–२ को बराबरीमा पुराए ।
पहिलो हाफमा बराबरी भएको अवस्थामा दोस्रो हाफको २२ औँ मिनेटमा गोल गर्दै प्रदीप लामाले व्यक्तिगत दोस्रो गोल गर्दै स्टार सिटीलाई अग्रता दिलाए । त्यसपछि कुनै पनि टिमबाट गोल हुन नसकेपछि स्टार सिटी दोस्रो पटक च्याम्पियन बनेको हो । स्टार सिटीलाई च्याम्पियन बनाउन फाइनलमा दुई गोल गरेका प्रदीप लामा म्यान अफ द म्याच भए । उनले नगद ५ हजार प्राप्त गरेका छन् । च्याम्पियन भएसँगै स्टार सिटीले नगद ५ लाख प्राप्त गरेको छ । पहिलो सहभागिता जनाएर उपविजेता बनेको ईलाईटले नगद २ लाखमा चित्त बुझाए ।
प्रतियोगिताका अधिकांश विधामा स्टार सिटीले कब्जा जमाएको छ । स्टार सिटीका प्रदीप लामा प्रतियोगिताको सर्वोकृष्ट खेलाडी बने । उनले नगद २५ हजार प्राप्त गरे । स्टार सिटीका अमानत सेख उत्कृष्ट गोलरक्षक, कुवेर सिंह सर्वाधिक गोलकर्ता भए । उनीहरूले जनही नगद १५ हजार प्राप्त गरे । स्टार सिटीकै निलेश विष्ट उत्कृष्ट प्रशिक्षक भए । उनले नगद १० हजार पाए । ईलाईका चेतन थारु उत्कृष्ट रक्षक बने । उनले पनि नगद १५ हजार प्राप्त गरे । आयोजक फारवेष्ट पशुपति युवा क्लबका सुशील विश्वकर्मा उदयमान खेलाडी बने । उनले नगद १५ हजार प्राप्त गरे ।
च्याम्पियन बनेको स्टार सिटीका कप्तान कुवेर सिंहले आफ्नो टिमले अघिल्ला खेलहरू जस्तै तालमेल मिलाएर खेलेका कारण च्याम्पियन भएको बताए । स्टार सिटीका प्रशिक्षक निलेश विष्टले टिमको रणनीति अनुसार नै खेलेर उपाधि जितेको बताए । उनले आफ्ना खेलाडीहरूले शत प्रतिशत दिएर खेलेको बताए ।
पहिलो पटक फारवेष्ट कपमा सहभागिता जनाएर उपविजेता बनेको ईलाईट क्लबका कप्तान योहन्ना चौधरीले आफूहरूले राम्रो खेलेको भए पनि भाग्यले साथ नदिएको बताए । उनले पाएका मौकाहरू गोल नहुँदा टिम पराजित भएको बताए । ईलाईटका प्रशिक्षक अमर चौधरीले आजको दिन आफ्नो पक्षमा नरहेको भन्दै राम्रो खेल्दा पनि उपाधि जित्न नसकेको बताए । उनले आशा गरिएका खेलाडीले सोचे अनुसारको प्रदर्शन गर्न नसकेको स्वीकारे ।
विजयी खेलाडीहरूलाई एक समारोहबाट बिच पुरस्कार वितरण गरिएको छ । समापन कार्यक्रमका प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्का सदस्य सचिव दिपकवहादुर सिंह, विशिष्ट अतिथि गैर आवासीय नेपाली संघका मुख्य कार्यकारी अधिकृत राजेन्द्रकुमार रावत लगायतले विजयी खेलाडीहरूलाई पुरस्कार वितरण गरे । प्रतियोगिताको मुख्य प्रवर्धकमा मा सुदूरपश्चिम प्रदेश खेलकुद परिषद् रहेको थियो भने मुख्य प्रायोजकमा एनआरएनए रहेको थियो ।