स्रोत नखुलेको १९ लाख ९० हजारसहित हुन्डी कारोबारी पक्राउ

विराटनगर । प्रहरीले स्रोत नखुलेको १९ हजार ९० लाख रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ । विराटनगर महानगरपालिका–६ केशलिया मार्गमा ४९ वर्षीय सुरेन्द्रप्रसाद साहलाई प्रहरीले बुधवार पक्राउ गरेको हो ।
सुनसरीको देवानगञ्ज गाउँपालिका–५ का उनी हुन्डी कारोबारमा संलग्न व्यक्ति भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको टोलीले विशेष सूचनाको आधारमा साहलाई विराटनगर केशलिया मार्गबाट पक्राउ गरेको हो ।
मोरङ प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक रञ्जनकुमार दाहालका अनुसार साहलाई बरामद गरिएको नगद र उनले प्रयोग गरेको मोटरसाइकल सहित आवश्यक कारबाहीको लागि राजस्व अनुसन्धान कार्यालय इटहरी सुनसरी पठाइएको छ ।
अवैध हुन्डी कारोबारीलाई नियन्त्रण गर्न जिल्ला प्रहरी कार्यालय मोरङले त्यसमा संलग्न कारोबारीहरूको सूक्ष्म अनुसन्धान गरी पक्राउ गर्न विशेष अपरेसन सञ्चालन गरेको जनाएको छ ।
यस क्रममा गत कात्तिक १४ गते १६ वर्षीय बालकलाई नगद २१ लाख ८७ हजार रकमसहित पक्राउ गरिएको थियो । उनलाई हुन्डी कारोबारीहरूले प्रयोग गरेको पाइएको थियो ।
यसैगरी, यसअघि विराटनगर–१५ सुँडी बस्ती बस्ने धर्मानन्द साहलाई ४ लाख ७५ हजारसहित पक्राउ गरिएको थियो भने विराटनगर–१५ का रञ्जित कुमार साहलाई ९ लाख २० हजारसहित पक्राउ गरिएको थियो ।