त्रिकोणात्मक टी २० मा नेपालको लगातार दोस्रो जित, हङकङलाई ६ विकेटले हरायो
काठमाडौँ । त्रिकोणात्मक टी—२० क्रिकेट शृङ्खलामा नेपालले लगातार दोस्रो जित निकालेको छ ।
बिहीबार भएको दोस्रो खेलमा नेपालले, हङकङलाई ६ विकेटले पराजित गरेको हो । जारी शृङ्खलामा नेपालको यो दोस्रो जित हो । यसअघि बुधवार खेलिएको पहिलो खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (युएई) लाई सात विकेटले हराएको थियो ।
काठमाडौँको मुलपानी क्रिकेट मैदानमा बिहीबार टर हारी पहिले ब्याटिङको निम्तो पाएको हङकङले १९.३ ओभरमा अलआउट हुनुअघि ९४ रन बनाएको थियो ।
जवाफी ब्याटिङमा ओर्लिएको नेपालले भने १३.५ ओभरमा चार विकेट गुमाएर ९९ रन बनाउँदै विजय लक्ष्य पार गरेको थियो । नेपालका लागि आफिस शेखले सर्वाधिक ४२ रनको योगदान गरे । कप्तान रोहित पौडेलले अविजित २५ रन बनाए ।
त्यसअघि नेपालले जितका लागि हङकङबाट ९५ रनको लक्ष्य पाएको थियो । हङकङलाई ठुलो योगफल बनाउन नदिन नेपाली टोलीका बलर करण केसीले चार विकेट लिएका थिए । सोमपाल कामी र अविनोष बोहराले पनि दुई—दुई विकेट हात पारेका थिए भने कुशल मल्ल र मौसम ढकालले एक—एक विकेट लिए ।
यसअघि बुधवारको पहिलो खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (युएई) लाई सात विकेटले हराएको थियो ।












