परराष्ट्र नीतिको विषयमा नेपाल आत्तिनु पर्ने अवस्था छैन : परराष्ट्रमन्त्री साउद
काठमाडौं । परराष्ट्र मन्त्री एनपी साउदले परराष्ट्र नीतिको विषयमा नेपाल आत्तिनु पर्ने अवस्था नरहेको बताएका छन् ।
नेपालको परराष्ट्र नीतिको चुनौती र अवसर विषयक कार्यक्रममा मन्त्री साउदले नेपाल प्रतिकूल परिस्थितिमा पनि सार्वभौमिकता, एकता र अखण्डता कायम राख्न सक्षम रहेको भन्दै आत्तिनु पर्ने अवस्था नरहेको बताए ।
यस्तै, उनले राजनीतिक दलहरुकोबीचमा परराष्ट्र नीतिलाई लिएर विदेशीको समर्थन लिने प्रवृत्ति राष्ट्रका लागि दुर्भाग्यपूर्ण हुने भन्दै यसप्रति ध्यान दिनु आवश्यक भएको बताए ।
उनले भने, हाम्रो राष्ट्र धेरै लामो समयदेखि सुरक्षित छ । हाम्रो परराष्ट्रनीति, इतिहासको बुझाईमा आधारित छ । हाम्रो देश प्रतिकूल परिस्थितिमा पनि सार्वभौमिकता, एकता अखण्डता कायम राख्न नेपाल सक्षम छ । त्यसकाराण धेरै आत्तिनु पर्ने छैन् । राजनीतिक दलहरुकोबीचमा परराष्ट्र नीतिलाई लिएर विदेशीको समर्थन लिने प्रवृत्ति हाम्रो राष्ट्रका लागि दुर्भाग्यपूर्ण हुन्छ ।
मन्त्री साउदले घरभित्रको राजनीतिक दलहरुको झगडाका लागि पनि विदेशीहरुको भूमिका खोज्ने प्रवृत्तिले राष्ट्रको स्वतन्त्रता र स्वाभिमान जस्ता कुराहरु प्रभावित हुने बताए । यसकारण पनि राजनीतिक दलहरुबीच छलफल गरेर आफ्ना सीमाहरु निर्धारण गर्नु आवश्यकता रहेको उनको भनाइ थियो ।
उनले भने, आफ्नो घरभित्रको राजनीतिक दलहरुको झगडाका लागि पनि विदेशीहरुको भूमिका खोज्ने प्रवृत्ति छ । जुट्न नसक्ने वा अरुले फुटाउँने प्रवृत्ति राष्ट्रिय राजनीतिमा हाबी भयो भने राष्ट्रको स्वतन्त्रता स्वाभिमान जस्ता कुराहरु प्रभावित हुन्छन् । हामीले सबैभन्दा पहिला राजनीतिक तहमै, राजनीतिक दलहरुको बीचमा छलफल र संवाद गरेर आफ्ना सीमाहरु निर्धारण गर्नुपर्ने, बनाउँनु पर्ने आवश्यकता छ ।
मन्त्री साउदले पार्टीगत रुपमा पनि विभिन्न देशहरुसँग सम्बन्धहरु कायम भइरहेको चर्चा गरे ।















