राष्ट्रपतिले मंगलबारलाई बोलाए सर्वदलीय बैठक

काठमाडौं । पछिल्लो समय राजनीतिक दलहरुकाबीचमा कुरा नमिल्दा संसद अवरुद्ध हुँदै आएको छ । साउन १० गतेदेखि संसदको नियमति कारबाही अघि बढेको छैन ।
अवरुद्ध भएको संसद खुलाउने विषयमा दलहरुकाबीचमा छलफल भए पनि सहमति जुट्न सकेको छैन । लगातार दलहरुले पनि छलफल गरिरहेका बेला प्रधानमन्त्री र सभामुखसँग संसदको गतिरोधका बारेमा जानकारी लिएका राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार संसदमा प्रतिनिधित्व गर्ने दलहरुसँग छलफल गर्न लागेका छन् ।
राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले मंगलबार शीतल निवासमा सर्वदलीय बैठक आह्वान गरिएको जानकारी दिए । राष्ट्रपति निर्वाचित भएपछि पौडेलले सबै राजनीतिक दलका नेताहरूको पहिलो पटक भेट्न लागेका हुन् ।
संसद्को जारी गतिरोध अन्त्य गर्न राष्ट्रपति पौडेलले संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दललाई मङ्गलबार बिहान साढे ८ बजे शीतल निवास पुग्नु पर्ने छ ।
सुन प्रकरण उच्चस्तरीय छानबिन समितिको माग गर्दै नेकपा एमालेले निरन्तर संसद् अवरोध गर्दै आएको छ । यसअघि राष्ट्रपति पौडेलले ठूला दलका शीर्ष नेतालाई शीतल निवास बोलाएर छलफल गर्न लागेका हुन् ।