प्रतिनिधिसभा बस्दै ,यी हुन आजको कार्यसूची
|
Getting your Trinity Audio player ready...
|
काठमाडौं । प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजे बस्दै छ ।
संघीय संसद भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा सभामुख देवराज घिमिरेले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका एमाले सांसद टोपबहादुर रायमाझीको सांसद पद निलम्बन भएको जानकारी गराउनेछन् ।
आजको प्रतिनिधिसभा बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त कार्यभार तोकिएको र विधेयक प्रमाणीकरण सम्बन्धी र प्रधानमन्त्री कार्यालयबाट प्राप्त छुट्टाछुटै कार्यभार तोकिएको पत्रहरूको ब्यहोरा पढेर सुनाउने कार्यसूची रहेको संघीय संसद सचिवालयले जानकारी गराएको छ ।
यस्तै,कानून, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङ्गले बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ को दफा ४२ को उपदफा (२) बमोजिम आयोगको कार्यविधि थप गर्न बाधा अड्काउ फुकाउ आदेश प्रस्ताव पेश गर्नेछन् ।
शिक्षा विज्ञान तथा प्रविधि मन्त्री अशोक कुमार राईले पनि राष्ट्रिय सभामा उत्पत्ति भएको “नेपाल विश्वविद्यालय विधेयक, २०८० लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस्” भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचीमा उल्लेख गरिएको छ ।
सभामुख घिमिरेले १० वा सो भन्दा बढी बैठकमा अनुपस्थित सांसदहरुको अनुपस्थितिको सूचना सभाको स्वीकृतिको लागि पेश गर्ने पनि तयारी छ ।








