वीपीले अघि सारेका हरेक नीति अहिलेको लागि पनि मार्गदर्शन : उपप्रधानमन्त्री खड्का
काठमाडौँ । उपप्रधानमन्त्री तथा रक्षा मन्त्री पूर्णबहादुर खड्काले वीपी कोइरालाले परिकल्पना गरेको संविधानसभा मार्फत लोकतान्त्रिक संविधान निर्माण गरेर मुलुक अघि बढिरहेको बताएका छन् ।
शनिवार काठमाडौँमा आयोजित वी.पी कोइराला राष्ट्रिय पुरस्कार २०७९ समर्पण समारोहलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री खड्काले वीपीले अघि सारेका हरेक नीति अहिलेको लागि मार्गदर्शन भएको बताए ।
उनले भने ‘ आज जन नायक वीपीलाई सम्झिरहेका छौ, जसले जनताको लागि जनताको मतबाट शासन चल्ने विधिको व्यवस्था गर्नको लागि, संविधान सभाबाट नेपाली जनताले चुनेको जनप्रतिनिधिबाट संविधान बन्नु पर्छ, चल्नु पर्छ र त्यही मत मार्फत नेपाली जनता मुलुकको मालिक हुनुपर्छ भन्ने संविधान सभाको नाराको उद्घोषसहित आन्दोलनको नेतृत्व गरेका थिए, त्यही आन्दोलन मार्फत आज हामी मुलुकमा सङ्घीय लोकतान्त्रिक संविधान निमार्ण गरेर त्यही संविधान मार्फत मुलुकको सम्पूर्ण भूगोल, धर्म, महिला, जनजाति, दलित, मधेसी, मुस्लिम, थारुलगायत सबै धर्म जात अधिकार सम्पन्न हुने गरी संविधान निमार्ण गरेर हामी मुलुकलाई अगाडि बढाई रहेको अवस्था छ । ’
उपप्रधानमन्त्री खड्काले वीपीले तत्कालीन अवस्थामा विद्यमान कुरीतिहरूलाई पनि निर्मूल पार्ने अठोट लिएको चर्चा गरे ।
उनले भने ‘ सामाजिक न्याय, समानता सबैको प्रतिनिधित्वको शासनको भागदारीमा हुनुपर्छ भन्ने कुराको बन्दोबस्त हामीले संविधानमा गरेका छौ । तर वीपी कोइरालाले पहिलो निर्वाचित प्रधानमन्त्रीको रूपमा आफ्नो सरकारको निमार्ण गर्दा सामाजिक न्याय र समानताको कुरा मात्रै होइन तत्कालीन अवस्थाको बेथिति र कुरीतिहरूलाई, जमिनदारी, भूमि व्यवस्था विविध प्रकृतिका क्रान्तिकारी निर्णयबाट परिवर्तनको बेगमा मुलुकलाई अगाडि बढाएको थियो । उनको काम हाम्रो लागि मार्गदर्शन बनेको छ । ’
वीपीको जीवन, नीति र उनले लिएका रणनीति र कार्यनीतिहरू समयसापेक्ष भएको उल्लेख गर्दै उपप्रधानमन्त्री खड्काले मानिसको मूल्य र मान्यताको छहारीमा, नेपाली माटोको, मायामा समर्पणमा निर्णय हुनुपर्छ भन्ने कुरालाई आत्मसाथ गर्दै नेपाली जनताको आशा र निराशाको भावलाई चिर्न आवश्यक भएको बताए । सरकारको निर्णय, व्यवहार र प्रकृतिबाट नेपाली जनताको बिचमा नयाँ आशा जगाउँनु पनि उनको भनाइ थियो ।














