‘गैरआवासीय नेपालीले दोहोरो नागरिकता प्रयोग गर्न पाउनु पर्छ’

नेपाली वंशज नागरिक सङ्घले नेपाल नागरिकता ऐन, २०६३ मा गैर आवासीय नेपाली नागरिकता सम्बन्धमा भएको संशोधनप्रति आपत्ति जनाएको छ । आज (आइतबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै सङ्घले नागरिकता ऐन–२०६३ को संशोधनले पहिला प्राप्त भएको नेपाली नागरिकताको निरन्तरता नदिएको र गैर आवासीय नागरिकता लिनुपर्ने व्यवस्था गरेको भन्दै आपत्ति जनाएको हो ।
सङ्घले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा गरेको सर्वेक्षणले पनि सोही कुराको पुष्टि गरेको विज्ञप्तिमा उल्लेख गरेको छ । नेपाली वंशज नागरिक सङ्घले वंशजको नागरिकताबाट विमुख गर्ने र नागरिकको अधिकारबाट वञ्चित गर्ने गरी भएको उक्त संशोधनप्रति आफूहरूको गम्भीर असहमति रहेको बताएको छ । नेपाली वंशजका नागरिकता वाहकले राजनीतिक अधिकारसहित सबै प्रकारको अधिकार प्रयोग गर्न पाउनु पर्ने उनीहरूको माग छ ।
नेपालको सार्वभौमसत्ता र राजकीय सत्ता नेपाली जनतामा रहेको भन्दै सङ्घले वंशजको आधारमा प्राप्त भएको नागरिकताको निरन्तरता कायम नहुने गरी राज्यले कानुन निमार्ण गर्न नमिल्ने धारणा सार्वजनिक गरेको छ । नागरिक स्वयंले नागरिकता त्याग गर्न चाहेको अवस्थामा बाहेक राज्यले नागरिकता त्याग गर्न लगाउने कुरा जनतामा निहित सार्वभौमसत्ता र राजकीय सत्ताको प्रतिकूल हुने सङ्घको बुझाई रहेको छ ।
नेपाल नागरिकता ऐन, २०६३ मा रहेको गैर आवासीय नागरिकता सम्बन्धी व्यवस्था अन्तर्गत प्राप्त हुने नागरिकताले नागरिकहरूमा विभेद गरेको, अधिकारमा बन्देज लगाएको र वंशजको नागरिकता बुझाउनु पर्ने व्यवस्था गरेको भन्दै उनीहरूले आपत्ति जनाएका हुन् ।
नेपाल सरकारले गरेको नागरिकता सम्बन्धी यस्तो व्यवस्था मानव अधिकारको विश्वव्यापी घोषणा पत्र, १९४८ को समेत विपरीत हुने सङ्घको विज्ञप्तिमा उल्लेख छ ।
राज्यले वंशजका नागरिकहरूलाई विदेश पलाएन हुन बाध्य बनाउने गरेको सङ्घको बुझाई छ । अर्कोतिरबाट नागरिकता ऐन तथा संविधानमा नागरिकता वितरण सम्बन्धमा बारम्बार आधार वर्ष राखेको भन्दै उनीहरूको असन्तुष्टि रहेको छ । नेपाली वंशज नागरिक सङ्घले विश्वभरि छरिएर रहेका वंशज नेपाली नागरिकहरूलाई आफ्नो तथा आफ्ना सन्तानहरूको वंशजको नागरिकताको निरन्तरताको लागि आवाज उठाउन आग्रह गरेको छ । एक पटक वंशजको नागरिकता पाएको नागरिक सधैँका लागि वंशज हुनुपर्ने उनीहरूको माग छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ अधिवक्ता बालकृष्ण नेउपानेले नेपालको संविधान २०७२ र नागरिकता ऐन २०६३ ले देशमा धेरै समस्या ल्याएको बताए । २०६३ को नागरिकता ऐन आउनुभन्दा अघि कानुनमा नलेखिए पनि व्यवहारमा दोहोरो नागरिकता कायम रहने परिपाटी रहेको उनले स्मरण गरे ।
कुनै पनि नागरिक रहरले नभएर बाध्यताले बिदेसिने उनेको बुझाई छ । यस्तो अवस्थामा विदेशमा आवश्यक पर्ने नागरिकता, स्थायी आवासीय अनुमति पत्र लिएकै आधारमा वंशज नेपालीलाई गैर नेपाली बनाउने नहुने उनको भनाई छ ।
‘यो २०७२ सालको संविधानले थप एउटा समस्या ल्याइदियो, नेपाली वंशजका जो मानिसहरू थिए, ती मानिस विदेशमा कुनै कारणले गए । विदेशमा बस्नका लागि नागरिकता लगायत स्थायी अनुमति पत्र लिए भने अहिलेको नागरिकता ऐन २०६३ को दफा १० ले तिनीहरूको नागरिकता रद्द गर्ने व्यवस्था गर्यो ।’ उनले भने, ‘२०२० सालको मुलुकी ऐन र नागरिकता ऐन, २०४७ सालको संविधान, यो २०६३ सालको नागरिकता ऐन आउनु भन्दा अगाडि नेपालमा कानुनी रूपले दोहोरो नागरिकता व्यवस्था नलेखे पनि व्यवहारिक रूपमा थियो ।’
अधिवक्ता नेउपानेले राज्यले नागरिकलाई रोजगार नदिएर विदेश जान उक्साउने गरेको आरोप लगाए । विदेश पठाएपछि उनीहरूको नेपाली पहिचान मेटाउने काम गरेको उनले बताए ।
‘देशका नागरिकलाई हामी रोजगार नदिने, माओवादीले गाउँमा बस्न नदिने १० वर्ष, हामीहरूले उद्योग, कलकारखाना बेच्ने र नेपालमा वैदेशिक रोजगार विभाग चाहिँ छ, स्वदेश रोजगार विभाग चाहिँ छैन । सरकार अभियानका रूपमा नेपाली तमाम विदेश जाऊँ, नेपालमा नपढ, रोजगार नगर भनेर अभियानको रूपमा विदेश धकेल्छ । त्यसपछि तिमी विदेशी भयौ भन्छ,’– उनले भने ।
देशका कम्युनिष्टहरुले राष्ट्रियताको नाममा देश सिद्ध्याउनै लागेको उनको आरोप छ । माओवादीले रुकुम, रोल्पाबाट खनेको सुरुङको मुख दिल्लीमा भेटिएको उनको टिप्पणी छ । ‘हाम्रा देशमा १२ बुँदे कम्युनिस्ट नाम माओको राख्ने, काम राहुको गर्नेले राष्ट्रवादका नाममा यो देश सिद्ध्याउने भए । घनघोर राष्ट्रवाद । रुकुम, रोल्पाबाट खनेको सुरुङ दिल्ली रहेछ त्यसको मुख । नेपालको प्रधानमन्त्री एक जना ट्रक व्यवसायीले दिल्लीमा भएर बनाउँदो रहेछ,’– उनले भने ।
उनले नेपाली वंशज भएर विदेशी स्थायी आवासीय अनुमति पत्र र नागरिकता लिएकाहरूलाई दोहोरो नागरिकताको सुविधा दिन आवश्यक रहेको बताए । संसार भरि छरिएर रहेको नेपाली वंशजको पैसा, बुद्धि र क्षमतालेमात्रै नेपाललाई समृद्ध बनाउन सकिने उनको दाबी छ ।
‘तमाम विदेशमा बस्ने नेपालीलाई के आह्वान गर्छु भने आउनुस् । तपाईँहरूको नागरिकता हामी दोहोरो कायम गरिदिन्छौँ । दोहोरो नागरिकता कायम गरेपछि संसारभरिका पैसावाला, बुद्धिवाला क्षमतावाला मानिस हामी ल्याउँछौँ । विहारीलाई राजनीतिक अधिकार दिनुभन्दा हाम्रो वंशजलाई किन राजनीतिक अधिकार नदिने ?’– उनले प्रश्न गरे ।
अन्य देशमा पनि दोहोरो नागरिकता सम्बन्धी व्यवस्था रहेको उल्लेख गर्दै उनले विदेशमा रहेका वंशज नेपालीलाई दोहोरो नागरिकता दिन आवश्यकता रहेको बताए । जन्मको आधारमा नागरिकता लिएका भन्दा विदेशमा रहेका वंशजका नेपालीले यो सङ्कटमा पर्दा सहयोग र समर्थन गर्ने उनको भनाई छ ।
गैर आवासीय नेपाली राजेन्द्र भट्टले हजारौँ पुर्खा यो देशमा रहे पनि आफूलाई नेपालको कानुनले गैर नेपाली बनाएको भन्दै दुखेसो पोखे । वंशजको नागरिकता खोस्ने राज्यको कुनै अधिकार रहेको उनको भनाई छ । नेपाल बाहिर दोहोरो नागरिकता लिएर बसेको १२ लाख ६९ हजार नेपाली मूलका नागरिक रहेको उनले बताए ।
‘बाहिरको देशको नागरिकता लिएर बसेका १२ लाख ६९ हजार नेपाली हुनुहुन्छ । यही नेपालका मूलवासीहरू । न उनीहरू अङ्गीकृत हुन, न छिमेकी मुलुकबाट आयातित हुन् । उनीहरूका हजारौँ पुर्खा यहीँ जन्मे, हुर्के । तिनको सन्तान हुन उनीहरू । आज उनीहरूलाई अब कहिले पनि यो नेपालसँग सम्बन्ध नराख्ने कानुन बनाइयो,’– उनले भने ।
नेपाली मूलका रैथानेहरूको जनसङ्ख्या कम होस् र आयातितले देश भरेर भोलि चाहेजस्तो राजनीतिक, आर्थिक शासन गर्न सकियोस् भनेर नेताहरूले यस्तो व्यवस्था ल्याएको उनको आरोप छ । उक्त कार्यमा गैरआवसीय नेपाली सङ्घ (एनआरएन) का नेताहरू पनि संलग्नता रहेको उनले बताए ।
उनले नेपालको नेताहरूसँग र छिमेकीको स्वार्थसँग मिलेर दुई पैसा कमाउन र दुई चार वटा दलाली गर्नका लागि एनआरएनले वंशजको नागरिकता बेचिदिएको आरोप लगाए । राज्यले आफ्ना देशका वंशज नागरिकलाई कहिले पनि देशसँग सम्बन्ध टुटाउने काम गर्न नहुने उनले बताए ।
नेपाली वंशज नागरिक सङ्घका अन्तर्राष्ट्रिय संयोजक योगेन्द्र बहादुर क्षेत्रीले नै नागरिकताको निरन्तरताले नै समृद्ध नेपाल निर्माण हुने बताए ।

सबै वंशजका नेपालीहरूले जहाँ बसे पनि नागरिकताको निरन्तरता पाउनु पर्ने उनको माग छ । विदेशमा रहेका एनआरएन र उनीहरूका छोराछोरीको सीप, शिक्षा र धनको उचित प्रयोग गरे मात्रै चाँडै नेपाल सम्पन्न हुने उनको बुझाई छ ।
‘एनआरएनका छोराछोरी जो–जो विदेशमा बस्नुभएको छ, जो–जो विदेशमा बसेर पढ्नुभएको छ, उनको सीप, एजुकेसन र धन नलिँदासम्म नेपालको समृद्धि फुलिस् टप । हामी त्यो चाहँदैनौँ । हामीलाई हाम्रो लागि सोच्नुपर्ने छैन,’– उनले भने ।
विदेशमा रहेका नेपाली वंशज नागरिकहरूले दुःख सुख गरेर आफ्नो लागि राम्रै गरिरहेको बताउँदै उनले देशमै बस्ने नेपालीहरूमा रहेको गरिबी अन्त्य र समृद्ध नेपाल निर्माणका लागि आफूहरू सहयोग गर्न तयार रहेको बताए ।
वंशजको नागरिक मिलेर यो देशलाई समृद्ध बनाउनेतर्फ लाग्नुपर्ने उनले बताए । राज्यले यही माटोमा भिड्नुपर्छ र पसिना बगाउनुपर्छ भन्ने नीति नै नलिएको उनको आरोप छ ।
कार्यक्रमको सञ्चालन कपिलदेव ढकालले गरेका थिए ।