नेपालको प्रजातान्त्रिक आन्दोलनमा भैरवसिंह रावलको योगदान अविस्मरणीय: सभापति देउवा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालको प्रजातान्त्रिक आन्दोलनमा भैरवसिंह रावलको योगदान अविस्मरणीय रहेको बताएका छन् ।
शनिवार काठमाडौँमा आयोजित भैरवसिंह रावल स्मृति ग्रन्थ सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले रावलले विशेषत सुदूरपश्चिमक्षेत्रको विकासका लागि महत्त्वपूर्ण भूमिका खेलेको बताए ।
उनले भने ‘रावलले मलाई अति माया गर्नु हुन्थ्यो, उहाँले प्रजातान्त्रिक आन्दोलनमा पनि गतिलो योगदान दिनुभयो, सुदूरपश्चिमेहरु एक हुनुपर्छ भन्दै उहाँले सुदूरपश्चिम क्षेत्रको विकासमा खेलेको भूमिका पनि बिर्सन सकिन्न । ’
कार्यक्रममा नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले भैरवसिंह रावलले नेपाली कांग्रेसमा समाहित भएपछि खेलेको भूमिका कसैले बिर्सन नसक्ने बताए ।
उनले भने ‘ विभिन्न जिल्लामा विभाजित अछामलाई छुट्टै र एक बनाउन रावलले खेलेको भूमिका बिर्सनु हुन्न, उहाँले अहिलेको राजनीतिक व्यवस्था ल्याउन पनि रावलले खेलेको योगदान चानचुने छैन, सुदूरपश्चिमको अहिलेको विकास पनि रावल जग हालेको बिर्सन हुन्न । ’
रावलको बारेमा लेखिएको पुस्तक भैरवसिंह रावल स्मृति ग्रन्थको विमोचन कांग्रेस सभापति देउवाले गरेका थिए ।