संवैधानिक परिषद सम्बन्धी विधेयक कार्यसूचीमा अटेन

काठमाडौं । संवैधानिक परिषद सबन्धी विधेयकमाथि आज पनि छलफल नहुने भएको छ ।
प्रतिनिधिसभाको सम्भावित कार्यसूचीमा आज पनि सो विधेयक समावेश नभए पछि छलफल नहुने भएको हो ।
यसअघिको बैठकमा सो विधेयक माथि छलफल गर्ने भनेर सम्भावित कार्य सुचीमा समावेश गरिएपनि अन्तिम समयमा हटाइएको थियो । अघिल्लो बैठकमा कार्यसूचीबाट हटाइएको सो विधेयक आज आउने अपेक्षा गरिएको थियो ।
सो विधेयक पारित हुन नसक्दा सर्वोच्च अदालतमा प्रधानन्यायाधीश नियुक्त हुने बाटो खुल्न अझै सकेको छैन् । कायममुकायम प्रधानन्यायाधीशबाट चल्दै आएको न्यायलयलाई नेतृत्वविहीन अवस्थाबाट मुक्त गराउनका लागि सो विधेयक पारित हुनु अनिवार्य छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संवैधानिक परिषदका अध्यक्ष प्रधानमन्त्रीलाई विशेष अधिकारसहितको सर्त राखेर विधेयकको प्रस्ताव गरेपछि प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले भने आपत्ति जनाएको छ । जसका कारण सो विधेयक संसद्मा पेश हुन सकिरहेको छैन् ।
तर, आजको बैठकमा संघीय संसद् अन्तर्गतका संयुक्त तथा प्रतिनिधिसभा अन्तर्गतको विषयगत समितिका सदस्यहरूको नाम भने मनोनयन हुने भएको छ ।
आज संसद्ले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा संसदीय समितिमा सदस्य मनोनयन मात्रै हुने उल्लेख छ ।