नवनियुक्त परराष्ट्रमन्त्री समक्ष एनआरएनएको आठ बुँदे माग

काठमाडौै / गैरआवासीय नेपाली संघ (एनआरएनए)ले नवनियुक्त परराष्ट्रमन्त्री एनपी साउद समक्ष आठ बुँदे माग पेश गरेको छ।
एनआरएनए अन्तर्राष्ट्रिय परिषद् (आइसीसीका) कार्यकारी अध्यक्ष डा बद्री केसी र अध्यक्ष कुल आचार्यको नेतृत्वमा आइतवार पराष्ट्र मन्त्रालयमा पुगेको प्रतिनिधिमण्डलले मन्त्री साउदलाई भेटेर बधाई तथा शुभकामना व्यक्त गर्दै आठ बुँदे माग पेश गरेको हो।
कार्यकारी अध्यक्ष डा केसीले संघले उठाँउदै आएको नागरिकता, एनआरएन नियमावली परिमार्जन, नेपालमा लगानीका वातावरण लगायतका विषयमा मन्त्री साउदको ध्यानार्कषण गराएका थिए।
अध्यक्ष कुल आचार्यले गैरआवासीय नेपाली नागरिकता तथा लगानीका कानुनी प्रक्रिया लगायतका विषयमा संबोधनका लागि पहल गरिदिन हुन अनुरोध गर्नु गरे।
सो अवसरमा युरोप क्षेत्रमा यहि मे ५ देखि ७ सम्म चेक रिपब्लिकमा आयोजना हुने क्षेत्रीय बैठकमा प्रमुख आतिथ्यताका लागि मन्त्री साउदलाई निमन्त्रण गरिएको र उनले उक्त बैठकलाई प्राथमिकतामा राखी सम्पर्कमा रहने समेत जानकारी दिएको एनआरएनएद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
मन्त्री साउदले आईतवार पद तथा गोपनियताको शपथ लिएका हुन। त्यसपछि परराष्ट्र मन्त्रालयमा पदबहाली लगत्तै एनआरएनएका प्रतिनिधमण्डलले भेटेको हो।
भेटमा एनआरएनएका सचिब गोबिन्द गौतम, अमेरिका क्षेत्रका संयोजक राम.सि पोखरेल, एनसीसी रसियाका अध्यक्ष शिवमणी भुर्तेल लगायत भाषा साहित्य विभागका प्रमुख हिक्मत थापा, तेज शाह, नरेश कोइराला, रमेश पौडेल, रमेश दाहाल, भगवती बस्नेत, सरोज दाहाल, दीपक कर्ण, जीवन बम, देवेन्द्र भट्टराई तथा सचिवालयका प्रमुख कार्यकारी अधिकृत रवि किरण अधिकारीको उपस्थिति थियो।
माननीय मन्त्रीज्यू समक्ष पेश गरिएका एनआरएनएका ८ बुँदे माग
क) गैरआवासीय नेपाली सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा संघले नेपाल कानून आयोगसंग विभिन्न चरणमा छलफल गरी दिएका सुझावहरुलाई संम्बोधन गरी कानून ल्याउनको लागि पहल गर्न ।
ख) गैरआवासीय नेपाली नागरिकता विधेयकलाई मूर्तरुप दिनुका साथै गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्न कठिनाई हुने थाईल्याण्ड, म्यानमार, मलेसिया, फिजी लगायतका देशहरुमा पुस्तौंदेखि बसोबास गरी आएका नेपाली मूलका सबैलाई सहज रुपमा नेपालसंग जोड्न तथा सामाजिक, सांस्कृतिक र आर्थिक अधिकार सहितको गैरआवासीय नेपाली परिचयपत्र प्रदान गर्ने सम्बन्धी व्यवस्था ऐनमा संशोधन गर्न ।
ग) गैरआवासीय नेपाली ऐनमा १८३ दिन भन्दा बढी सार्क मुलुक बाहेक अन्य देशमा बसोबास गरी आएका नेपालीलाई गैरआवासीय नेपालीको परिचय दिलाउन तथा विदेशमा अध्ययनरत विद्यार्थीहरुलाई पनि सोही परिभाषाभित्र समेट्न ।
घ) संविधानको धारा २९१ ले नेपाली नागरिकता नै कायम राखी लामो समय विदेशमा बस्ने अनुमति प्राप्त नेपाली नागरिकको मौलिक अधिकार हनन गरेको हुँदा यथाशिघ्र उक्त धारा परिवर्तनका लागि आवश्यक पहल गरिदिन हुन ।
ङ) गैरआवासीय नेपाली परिचपत्र लिएका नेपालीहरुलाई पनि गैरआवासीय नेपाली नागरिक सरह पाउने अधिकारको व्यवस्थाको लागि पहल गरिदिनु हुन ।
च) विदेशमा नेपालीहरुको उपस्थिति रहेका मुलुकमा नेपाली दूतावास तथा नियोग स्थापनाका लागि पहल गरिदिन हुन ।
छ) नेपाली मूलका विदेशी नागरिक (पीएनओ) र गैरआवासीय नेपाली नागरिक (एनआरएन) कार्डको शुल्क अत्यन्तै महँगो भएकोले अति न्युन संख्याले मात्र उक्त कार्ड लिएका छन् । तसर्थ पीएनओ र एनआरएन कार्डको शुल्क न्युनत्तम गराउन लागि पहल गरिदिन हुन
ज) गैरआवासीय नेपालीहरुको मागहरुको सम्बोधनका लागि अन्तर मन्त्रालयस्तरको कार्यशाला तर्जुमा गरी तत्काल समाधान गर्न ।