मिटरब्याज पीडितका समस्या तत्काल समाधान गर्न सक्दैनौं : गृहमन्त्रालय
काठमाडौं । सरकारले मिटरब्याज पीडितका समस्याहरु तत्काल सम्बोधन गर्न तत्काल सम्बभ नभएको जनाएको छ ।
माग सम्बोधनका लागि धेरै कानूनहरु संशोधन गर्नुपर्ने भएकाले तत्काल समस्या समाधान गर्न नसकिने मन्त्रालयले जनाएको छ । ११ दिनको पैदलयात्रा पछि काठमाडौं आइपुगेका मिटरब्याज पीडितहरुले आज विहानैदेखि प्रदर्शन गरेका थिए ।
प्रधानमन्त्रीको सरकारी निवास वालुवाटार अगाडि प्रदर्शन गर्ने लक्ष्यका साथ रातभरी खुलमाञ्चको सडक पेटीमा बसेका मिटरब्याज पीडितहरु अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगाल अगाडि प्रदर्शन गरेका थिए । त्यहाँबाट आन्दोलनरत पक्षलाई प्रहरीले अगाडि जान रोक लगाएपछि उनीहरु भद्रकाली फर्किएका थिए । टंगालमा भएको प्रदर्शन स्थलमा गृहमन्त्रालयका सहसचिव नेतृत्वको टोली पुगेको थियो ।

सहसचिवको टोलीले मिटरब्याजी पीडितहरुको समस्या वर्तमान कानूनले सम्बोधन नहुने र ऐनका लागि मन्त्रालयले पहल गरिरहेको बताएको हो । आज मिटरब्याजी पीडितहरुसँग सरकारको तर्फबाट वार्ताका लागि प्रदर्शन स्थलमा पुगेका गृह मन्त्रालयका सहसचिव केदारनाथ शर्मा, जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख घनश्याम अधिकारी लगायतको टोलीले समस्या समाधानका लागि सरकारबाट पहल भइरहेको पनि बताएका थिए । सहसचिव शर्माले पीडितहरुले छलफलका क्रममा प्रधानमन्त्रीसँग भेट्ने माग गरेको बताए ।

साथै केही जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको सक्रियता कम रहेको गुनासो गरेको भन्दै पीडितका माग सम्बोधनका लागि आफूले समन्वय गर्ने प्रतिवद्धता आफूले जनाएको बताए । उनीहरुले मिटरब्याजीलाई कारबाही गर्, पीडितलाई न्याय दे, तमसुक व्यवस्था खारेज गर् लगायतका नारा लगाइ र प्लेकार्ड बोकेर बिरोध गरेका छन् ।
















