विश्व शान्तिमा नयाँ चुनौति उत्पन्न भएको छ : राष्ट्रपति भण्डारी
काठमाडौं । राष्ट्रपति विद्या देवी भण्डारीले विश्व शान्ति र समृद्धिमा नयाँ चुनौति उत्पन्न भएको टिप्पणी गरेकी छिन् ।
काठमाडौंमा बिहीबार आयोजित नेपाल परराष्ट्र मामिला परिषद्को ७५ औं वाषिर्कोत्सव कार्यक्रमलाई सम्बोधनगर्दै उनले आर्थिक संकट र जलवायु परिवर्तनले ल्याएको संकटका कारण विश्व शान्ति र समृद्धिमा नयाँ चुनौति उत्पन्न भएको भन्दै चिन्ता व्यक्त गरिन ।
यसरी नै वातावरण विनाश हुदैँ जाने हो भने विश्व समुदायले ठूलो मात्रामा खाद्य असुरक्षा र पानीको संकट भोग्नु पर्ने तफर् उनको चिन्ता छ।
सूचना प्रविधिको क्षेत्रमा भएको विकासले मानव कार्यलाई सहज र सुखी बनाउन योगदान गरेको छ भने अर्को वर्तमान विश्वले चुनौतीहरूको सामना गरिरहेको बताउदै राष्ट्रपति भण्डारीले भनिनन्,’आर्थिक संकट र जलवायु परिवर्तनले ल्याएको संकटका कारण विश्व शान्ति र समृद्धिमा नयाँ चुनौति उत्पन्न भएको छ । अहिले कै रफ्तारमा वातावरण विनाश हुदैँ जाने हो भने विश्व समुदायले ठूलो मात्रामा खाद्य असुरक्षा र पानीको संकट भोग्नु पर्नेछ । ’
राष्ट्रपति भण्डारीले आत्मनिर्भर स्वावलम्बी र स्वाधीन अर्थतन्त्रको विकास माफर्त वर्तमानको अन्तरनिर्भर र जटिल अन्तर्राष्ट्रिय प्रणालीमा आफ्नो उपस्थितिलाई अर्थपूर्ण र प्रभावकारी बनाउनु पर्ने उल्लेख गरिन ।
जटिलता र चुनौतीहरूको सामना गर्दै भावि दिशा तय गर्न प्रभावकारी परराष्ट्र नीति एवम् सबल र सक्षम कूटनीतिक संरचनाको आवश्यकता पर्ने उनको भनाई छ ।
उनले २००७ सालको राजनीतिक परिवर्तनपछि परराष्ट्र मामिला‚ राष्ट्रिय‚ क्षेत्रिय ‚ राष्ट्रिय महत्वका अन्य विषयहरूमा स्वदेशी तथा विदेशी व्यक्तिहरूसँग छलफल गरेर परराष्ट्र मामिलाले सकारात्मक रुपमा आफ्नो सक्रियता कायम राखेको बताइन् ।