प्रधानमन्त्री दाहाल, सभापति देउवा र अर्थमन्त्री पौडेलसँग जापानी सांसद तथा पूर्वमन्त्रीको भेटवार्ता
काठमाडौं । नेपाल भ्रमणमा रहेको जापानको सत्तारुढ पार्टी ‘लिवरल डेमोक्राटिक’ का सांसद तथा पूर्व राज्यमन्त्री ताईरा मासाकी सहितको टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) सहित उच्चपदस्थ नेतासँग भेटवार्ता गरेको छ ।
नेपाल– जापान सम्बन्धलाई अझै फराकिलो बनाउने उद्देश्यले बुधबार नेपाल आएको तीन सदस्यीय टोलीले प्रधानमन्त्री दाहाल, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग भेटगरी छलफल गरेको हो ।
उक्त भेटका अवसरमा प्रधानमन्त्री दाहालले जापान नेपालको सबैभन्दा पुरानो मित्र रहेको बताउँदै नेपालको आर्थिक सामाजिक विकासमा जापानले निरन्तर रुपमा सहयोग गर्दै आएकामा धन्यवाद दिनु भएको थियो ।जापान सरकारसँगै जाइकालगायतका संस्थाबाट नेपालले धेरै सहयोग पाएको उहांको भनाई थियो ।
प्रधानमन्त्री दाहालले नेपाल अहिले विकासको चरणमा प्रवेश गरेको छ भन्दै आगामी दिनमा पनि जापानको सहयोग धेरै महत्वपूर्ण हुने बताउनुभयो । नेपालमा लगानीका लागि अनुकुल वातावरण बनाइने जानकारी दिंदै प्रधानमन्त्री दाहालले जापानी व्यवसायीलाई नेपालमा लगानी गर्न आउने गरी वातावरण तयार गरिदिन आग्रह गर्नु भयो ।
गतवर्ष आफूले जापानको भ्रमण गर्दा कृषि, विज्ञान र प्रविधिको क्षेत्रमा जापानले गरेको विकासबाट निकै प्रभावित बनेको भन्दै दाहालले नेपालमा पनि यस्तै सीप र प्रविधिको विकास गर्न चाहेको बताउनुभयो ।
प्रधानमन्त्री दाहालले जापानले नेपाली नागरिकलाई विभिन्न क्षेत्रमा काम गर्ने मौका दिइरहेको र आगामी दिनमा यो संख्या बढाउने गरी सहयोग गर्न आग्रह गर्नु भएको थियो ।
सांसद मासाकीले जापानको सरकारमा आइटी, मेनपावर, डिजिटल स्पेश लगायतका क्षेत्र हेर्ने जिम्मेवारी पाउनु भएको छ। नेपालको जनशक्ति लाई जापानमा सहज ढंगले प्रवेश गर्ने तथा स्थापित गराउने बारे समेत दुई नेता वीच छलफल भएको छ ।
सांसद मासाकीको माओवादी पार्टी र यसको झुकाव चीन तर्फरहेको बारेमा राखेको जिज्ञासामा प्रधानमन्त्री दाहालले आफ्नो पार्टी पूर्णरुपमा प्रजातन्त्रमा विश्वास राख्ने पार्टी भएको जानकारी निदुभयो ।
प्रधानमन्त्री दाहालले आफूले ९९प्रतिशत भन्दा बढी संसदबाट विश्वासको मत पाएर प्रधानमन्त्री बनेको जानकारी दिंदै आफूलाई जापानबाट पनि पुरापुर सहयोगको अपेक्षा राखेको बताउनुभयो ।
सांसद मासाकीले नेपालमा जलस्रोत, पर्यटन लगायतका क्षेत्रमा लगानी आउन सक्ने आफूले देखेको जानकारी गराउनु भएको थियो । उहांले आगामी दिनमा ग्रीन इनर्जी माजानुको विकल्प नभएको भन्दै यसकालागि नेपाललाई जापानले सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।
यस्तै संसदको सबैभन्दा ठुलो पार्टी नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग भएको भेटमा पार्टी अध्यक्ष देउवाले जापानले नेपालको विकासमा लामो समयदेखि निरन्तर सहयोग गर्दैआएकामा धन्यवाद दिनु भएको थियो ।

देउवाले बजेटरी सहयोगका अतिरिक्त कोभिड, भूकम्प, बाढीपहिरो लगायतका दैविप्रकोपका घटनामा पनि जापानले मन खोलेर सहयोग गर्दै आएकोमा जापान सरकारलाई धन्यवाद दिनु भएको थियो ।
जापानी सांसद मासाकीले आफूले नेपालमा जलस्रोतको विकासको उच्च संभावना देखेको भन्दै जापानको आर्थिक र प्राविधिक सहयोगमा यस क्षेत्रको विकास गर्नुपर्ने बताउनस भएको थियो ।
साँसद मासाकीको टोलीले उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई पनि भेटेको थियो। उक्तभेटमा मासाकीले नेपालको छिमेकी मलुक भारतले विभिन्न परियोजनाकालागि जापानबाट सस्तो व्याजदरमा ऋण सहयोग लिएको जानकारी दिनुभएको थियो । उहांले जापानबाट यस्तो ऋण लिनकालागि पहलगर्न नेपाललाई आग्रह गर्नु भएको थियो । त्यस अवसरमा अर्थमन्त्री पौडेलले विकास आयोजनाहरुमा स्रोत अभावरहेको जानकारी दिंदै जापानको सस्तोदरको ऋण सहयोग लिन आफुले तत्काल पहलगर्ने बताउनुभयो ।
यस्तै अर्थमन्त्री पौडेलले नेपालमा विदेशी लगानीकर्ताका लागि अनुकुल वातावरण बनाउने जानकारी दिंदै जापानका लगानीकर्तालाई यहाँ ल्याउन सहयोग गर्न आग्रह गर्नु भएको थियो ।
यस्तै टोलीले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र माधवकुमार नेपाल सँग भेटगरेको थियो।
















