गृहमन्त्री रवि लामिछानेले भेटे निर्मला कुर्मीको न्यायको माग गर्दै आन्दोलनरत अधिकारकर्मी
काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले निर्मला कुर्मीको न्यायको माग गर्दै माइतीघरमा धर्ना दिइरहेका बाँकेका अधिकारकर्मीसँग भेट गरेका छन् ।
त्यहाँ उनले रूबी लगायतलाई निर्मला कुर्मीको हत्या आरोपितलाई संरक्षण दिनेलाई पनि कारबाही गर्ने बताएका हुन्। ‘म सरकारको गृह मन्त्री भएको हिसाबले पनि तपाईंलाई ग्यारेन्टी छ। तपाईंहरू यहाँ बस्दा पनि नबस्दा पनि यसको संवेदनशीलतालाई बुझ्छु। यसको जटिलतालाई पनि तपाईंहरूले बुझिदिनुहोला,’ उनले भने,‘कोही पनि मानिस जोकोहीले संरक्षण गरेको छ भने, प्रमाण पाएभने संरक्षण गर्नेलाई पनि कारबाही गर्छु। तपाईंहरू निर्धक्क हुनुहोस्।’
उनले अनुसन्धानको प्रक्रियालाई आफूले पनि नियालिरहेको बताएका छन्। यस्तै विगतमा भएका कमिकमजोरीलाई पनि सच्याउनुपर्ने उनले बताए।
‘तपाईंहरूले आन्दोलन गरी जुन माग गर्नुभएको छ। कुन ढंगले अनुसन्धान अगाडि बढ्छ त्यसलाई हामीले हेरिरहेका छौं। अघिल्लो पटक भएका कमिकमजोरीले गर्दा अनुसन्धान प्रभावित भयो कि, न्याय निरूपणमा ढिलाइ भयो कि,’ उनले भने, ‘त्यो कमजोरीलाई पनि सच्याउनुछ। केस आफैं जटिल छ।’
त्यस्तै लामिछानेले रूबीलगायतलाई घर फर्किनलाई पनि अनुरोध गरेका छन्।
रूबी खानलगायतले यो तेस्रो चरणको आन्दोलन गरेका हुन्। सरकारी पक्षसँग बारम्बार छलफल गरेपनि न्याय नपाएको उनीहरूको गुनासो छ।














