खोप नलगाएकै कारण नेपालगञ्जमा दादुराको प्रकोप
बाँके जिल्ला पूर्ण खोप घोषणा भइसकेको छ । तर, बाँकेकै नेपालगञ्ज उपमहानगरमा गत साता खोप छुटेकै कारण दादुराको प्रकोप फैलियो । स्वास्थ्य सेवा विभागअन्तर्गत परिवार कल्याण महाशाखाले आइतबारसम्म ७८ बालबालिकामा दादुराको संक्रमण पुष्टि भइसकेको जनाएको छ भने एक जनाको मृत्यु भएको छ ।
गत वर्ष पनि जाजरकोट र धादिङमा दादुराको संक्रमण पुष्टि भएको थियो । उसो त, सरकारले दादुराको खोपलाई नियमित खोपमै समावेश गर्दै आएको छ । दादुराको खोप ९ महिनामा पहिलो र १५ महिनाका बालबालिकालाई दोस्रो मात्रा दिइँदै आएको छ ।
सरकारले यो वर्षको अन्त्यसम्ममा दादुरालाई जनस्वास्थ्य समस्याका रूपमा नरहने गरी निवारण गर्ने लक्ष्य लिएको छ । तर, गत सातादेखि बाँकेको नेपालगञ्जमा दादुराको प्रकोप फैलिएसँगै लक्ष्य प्राप्तिमा चुनौती देखिएको छ ।
पछिल्ला विभिन्न समयमा देखिँदै आएको दादुराका कारण सन् २०२३ मा निवारण गरिने लक्ष्यमाथि चुनौती देखिएको परिवार कल्याण महाशाखाका निर्देशक डा. विवेककुमार लालले बताए । उनले भने, ‘अहिलेकै स्थितिले लक्ष्य प्राप्ति चुनौतीपूर्ण देखिएको छ । सरकारले नियमित निःशुल्क खोप दिइरहेको छ । तर, खोप दिँदादिँदै पनि उपमहानगरपालिकामा रहेका वडामा छुटेर दादुरा फैलिनु चिन्ताको विषय बनेको छ ।’
तर, अहिले नेपालगञ्जमा देखिएको प्रकोपलाई विश्लेषण गरेपछि मात्र रोग फैलिनुको कारण र खोपको प्रभावबारे थाहा हुुने खोप शाखाका प्रमुख सागर दाहाल बताउँछन् । उनी भन्छन्, ‘दादुराका लागि रणनीति हामीले अपनाउँदै आइरहेको छौँ । अहिलेको प्रकोपलाई लिएर अब अर्को छलफल गरेर विश्लेषण गरेपछि मात्र भन्न सकिन्छ ।’
महाशाखाका अनुसार, बाँके जिल्लाले ‘पूर्ण खोप’ घोषणा गरिसकेको छ । बालबालिकालाई दिइने नियमित खोपहरू पूर्ण रूपमा लगाएको भन्दै देशका ७० जिल्लाले ‘पूर्ण खोप’ घोषणा गरिसकेका छन् । यो घोषणा प्रत्येक वर्षको वैशाख महिनामा हुनेगर्छ ।
बाँके जिल्लाले यो वर्ष पूर्ण खोपको घोषणा गरेको थियो । पूर्ण खोपको घोषणा गरेको जिल्लाको उपमहानगरपालिकामा दादुराको प्रकोप कसरी फैलियो भन्ने विषयमा अनुगमन तथा अनुसान्धान भइरहेको नेपालगञ्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्टले बताए । उनले भने, ‘पूर्ण खोप भनिए पनि दादुराको प्रकोप फैलिएसँगै कहाँ त्रुटि भयो भनेर हामीले अनुगमन तथा अनुसन्धान सुरु गरिसकेका छौँ ।’


















