सन्दीप लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश
काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेलाई सर्त सहित २० लाख धरौटीमा रिहा गर्न उच्च अदालत पाटनले आदेश दिएको छ ।
बिहीबार उच्च अदालत पाटनका न्यायाधीशद्वय ध्रुवराज नन्द र रमेश ढकालको इजलासले सन्दीपलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो ।
सन्दीपका कानुन व्यवसायी सरोज घिमिरेका अनुसार अब शुक्रवार अदालतले तोके बमोजिमको धरौटी बुझाएर उनी छुट्ने छन्।
न्यायाधीश नन्द र ढकालको संयुक्त इजलासमा बिहीबार भएको सुनुवाईपछि सन्दीपलाई थुनामा पठाउने जिल्ला अदालतको आदेश बदर गरेको हो ।
वकिल घिमिरेका अनुसार धरौटी राखेर छुटे पनि अन्य केही सर्तहरु पनि छन्। ‘हामीले पूर्ण आदेश पढ्न पाएका छैनौ विदेश जादा केही शर्त छन’ अदालतको आदेश पछि सञ्चारकर्मी सँग घिमिरेले भने।
उच्म अदालतको इजलासले १९ पन्ने आदेश जारी गरेको छ।
सन्दीपको तर्फबाट उक्त आदेशविरुद्ध बलात्कार आरोप लगाउने युवती नाबालिग नभएको जिकिरसहित पुनरावेदन निवेदन गरिएको थियो । वेरितको आदेश बदर माग गर्दै सन्दीपको तर्फबाट रिहाइको लागि गरिएको पुनरावेदनमाथिको सुनुवाई पटक-पटक स्थगित भएको थियो ।












