एभरेष्ट म्याराथन २०२३ को तयारीः विनोद बराल गुडविल एम्बेसडर

काठमाडौं । तेन्जिङ हिलारी एभरेष्ट म्याराथन २०२३ को तयारी सुरु भएको छ। तेन्जिङ हिलारी एभरेष्ट म्याराथनका अध्यक्ष तथा अभियन्ता विक्रम पाण्डे काजीले तेन्जिङ नोर्गे शेर्पा र सर एडमण्ड हिलारीले सगरमाथाको सफल आरोहण गरेको ७० वर्ष पूरा भएको अवसरमा २०२३ मे २९ तारिखमा खुम्बु हाइल्याण्ड देखी एभरेष्ट बेस क्याम्पसम्म म्याराथन दौड आयोजना गर्दैछन् ।
यसैको तयारीका लागि लामो समयदेखि बेलायतलाई कर्मभूमि बनाउँदै आउनु भएका सेफ विनोद बराल ‘तेन्जिङ हिलारी एभरेष्ट म्याराथन २०२३’ का लागि अननरी गुडविल एम्बेसडर नियुक्त भएका छन् । वरिष्ठ सेफ बराललाई तेन्जिङ हिलारी एभरेष्ट म्याराथनका अध्यक्ष विक्रम पाण्डे काजीले यो साता गुडविल एम्बेसडर नियुक्त गरेका हुन् ।
विनोद बराल लण्डनमा कार्यरत सेफ हुनुका साथै खाना र रेष्टुरेन्ट सम्बन्धी अनुसन्धानकर्ता, उद्यमी तथा परोपकार कर्ममा सक्रिय बेलायती नेपाली हुन् । यति बेला विनोद विश्वविख्यात गौरमेट इन्टरटेनमेन्टको एसियाली रिसर्च एण्ड डेभपलपमेन्ट एण्ड इनोभेसन किचनको प्रमुख छन् र कतारमा भएको विश्वकप फुटबलका लागि आवश्यक खानाहरू पनि तयार गरेका थिए ।
लन्डन स्थित दुईवटा हाई स्ट्रिट रेस्टुरेन्टका सहचालक हुनुका साथै बराल एसियन कुलिनरी एकेडेमी, लन्डन र ग्लोबल नेपाली सेफ फोरमका संस्थापक समेत रहेका बरालले स्वास्थ्यका लागि फाइदा हुने विषयमाथि जोड दिँदै, मायाले पकाएको स्वस्थ खानाप्रति आफ्नो प्रेम फैलाउने अवधारणा बोक्दै आएका छन् ।
बरालले फेब्रुअरी २००३ देखि अक्टोबर २००८ सम्म बेलायतको सबैभन्दा ठूलो भारतीय रेस्टुरेन्ट चेन द बम्बे साइकल क्लबका लागि समूह कार्यकारी प्रमुख सेफका रूपमा काम गरेका छन् । विनोदले बम्बे साइकल क्लबका तत्कालीन मालिक सारा विलिङ्घमको नेतृत्वमा काम गरेका छन् । बराल युके तथा युरोपका लागि गोर्खा वियरका ब्रान्ड एम्बेसडर पनि हुन् ।