कांग्रेस सशक्त प्रतिपक्षको रुपमा संसदमा प्रस्तुत हुन्छः महामन्त्री थापा
काठमाडौँ । नेपाली कांग्रेसले सशक्त प्रतिपक्षको रुपमा उपस्थित हुने संसदीय दलको बैठकले निर्णय गरेको छ । बैठक पछि पत्रकारहरुसंग कुरा गर्दै महामन्त्री गगन थापाले यस्तो बताएका हुन् ।
साथै मंगलवार हुने प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत नदिने पनि प्रस्ट पारेका छन् । संसद्को दोस्रो, तेस्रो दललगायतका पार्टीहरूको गठबन्धनको सरकार बन्दा विश्वासको मत दिने कुरा कांग्रेसमा छलफलको विषय नै नभएको आफूलाई लागेको थापाको भनाइ छ ।
‘२६ गते जुन दिन संसद्मा प्रधानमन्त्रीले विश्वासको मतका लागि आफूलाई प्रस्तुत गर्दै हुनुहुन्छ, त्यही दिन बिहान ९ बजे हामी बैठक बस्छौं । त्यो बैठकमा निर्णय गर्नेछौं । नेपाली कांग्रेस पार्टीले यो बेलामा संसद्भित्र दोस्रो, तेस्रो पार्टी मिलेर गठबन्धन बनाएर विश्वासको मत लिन उम्मेदवार प्रस्तुत गरेपछि त्यहाँ विश्वासको मत दिने कुरा सामान्य छलफलको विषय होइन । हामी प्रतिपक्षमा बसेर आफ्नो जिम्मेवारी निर्वाह गर्ने हो । नेपाली कांग्रेस अहिले विश्वासको मतको खिलाफमा उभिन्छ । प्रतिपक्षमा बस्छ भन्नेकुरा स्पष्ट छ ।’
कांग्रेसले माओवादी केन्द्रका अध्यक्ष दाहाललाई प्रधानमन्त्रीमा विश्वासको मत दिने कुरा नसोच्न आग्रह गरेका हुन् । कांग्रेसले दाहाललाई प्रधानमन्त्रीमा समर्थन गर्न लागेको भन्ने समाचार अफवाह भएको बताए । कांग्रेसले दाहाललाई प्रधानमन्त्रीमा विश्वासको मत दिन संविधानले पनि नदिने दाबी गरेका थिए ।
त्यस्तै, महामन्त्री थापाले नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक पुस २८ गतेबाट बस्ने र बैठकले निर्वाचन, राजनीतिक घटनाक्रमको बारेमा विस्तृत छलफल गर्ने जानकारी दिए । गठबन्धन गरेकोदेखि गठबन्धनलाई टिकाउन नसकेको बारेमा पनि केन्द्रिय समितिको बैठकमा गहन, खुला र पारदर्शी छलफल हुने उनको भनाइ थियो ।
‘नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक पुस २८ गतेबाट बस्दैछ । त्यो बैठकमा निर्वाचनको, राजनीतिक घटनाक्रमको निर्मम ढंगले समीक्षा गर्छौं, गठबन्धन गर्नेदेखि गठबन्धन टिकाउन नसक्नेसम्म खुला र पारदर्शीरुपमा छलफल गर्नेछौं,’ उनले भने ।
दाहाललाई विश्वासको मतमा असफल बनाएर नयाँ गठबन्धन बनाउन कांग्रेस लागेको भन्ने समाचार सार्वजनिक भएको बेला थापाले राजनीतिक दलका नेताहरूसँग सामान्य छलफल भएको तर त्यो सरकार गठनका लागि नभएको बताए ।
‘अरु दलहरूका नेताहरु सभापतिसँग भेट्न उहाँहरु नै समय मागेर आउनुभएको हो, शीर्ष नेताहरूको बीचमा सामान्य छलफल हो, कांग्रेसले अरु पार्टीलाई प्रधानमन्त्रीको अफर गर्नेकुरा अफवाह हो, निराधार हो, कानुनले नै मिल्दैन,’ उनले भने ।
कांग्रेस अब नीति अधिवेधनमा अगाडि बढ्ने थापाको भनाइ थियो । उनले अबको केन्द्रीय कार्यसमितिको बैठकबाट नीति अधिवेशनको मिति र स्थान तय हुने बताए ।
















