पन्ध्रौं पटकको प्रयासमा अमेरिकी संसदले पायो सभामुख
वासिङ्टन । अमेरिकाको हाउस अफ रिप्रिजेन्टेटिभ्सको सभामुखमा पन्ध्रौं पटकको प्रयासमा केभिन म्याककार्थी निर्वाचित भएका छन् । १४ पटकको मतदानमा हार बेहोरेका उनी १५औं पटकमा निर्वाचित भएका हुन् ।
सभामुख चयनका लागि ४२८ भोट खसेको थियो त्यसमध्ये म्याककार्थीले २१६ मत प्राप्त गरे । डेमोक्रेटिक उम्मेदवार हकीम जेफ्रिजले भने २१२ मत प्राप्त गरे । मतदानमा उपस्थित तर तटस्थ सांसद भने ६ जना थिए जसलाई पक्ष/विपक्षमा नलिई ‘प्रिजेन्ट’ मा गनिन्छ ।
नवनिर्वाचित सभामुख म्याककार्थीले नान्सी पेलोसीलाई प्रतिस्थापन गर्नेछन् । हाउस अफ रेप्रिजेन्टेटिभ्समामा रिपब्लिकनका २२२ र डेमोक्रेटिकका २१२ सांसद छन् । समाभुख चुनिनका लागि २१८ भोट चाहिए पनि केही रिपब्लिकन उम्मेदवार म्याककार्थीको विपक्षमा उभिएकाले १५औं चरणसम्म मतदान गर्नुपरेको हो । यसअघि रिपब्लिकन सांसद म्याट गेजलगायतका प्रभावशाली नेता म्याककार्थीको विपक्षमा उभिए पनि अन्तिममा उनलाई मत दिन तयार भएका हुन् ।
अमेरिकी सभामुखको निर्वाचनको इतिहासमा १६४ वर्षयताकै लामो चुनाव हो । सन् १९२३ मा सभामुख चयन गर्न ९ पटक मतदान गरिएको थियो भने त्यसअघि १८५६ मा १३३ पटक मतदान भएको थियो ।
सभामुख नभएकाले नोभेम्बरमा निर्वाचित भएका सांसदले शपथ समेत लिन पनि पाएका थिएनन् । उनीहरू अहिले पनि ‘रेप्रिजेन्टेटिभ्स इलेक्ट’ का रूपमा रहेका छन् । अमेरिकामा तल्लो सदनका रूपमा रहेको प्रतिनिधिसभा कानुनहरू निर्माण गर्नुका साथै संघीय सरकारलाई बजेट विनियोजनलगायतका महत्त्वपूर्ण काम गर्छ ।