भोली सकिदैं राष्ट्रपतिले सरकार गठनको लागि दिएको समयसीमा
|
ऑडियो
Getting your Trinity Audio player ready...
|
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनको लागि दिएको समयसीमा भोली साँझ सकिने भएपनि नेताहरुबीच सहमति हुन सकेको छैन ।
राषट्रपतिले दिएको समय पुष १० गते बेलुकी ५ बजे सकिने भए पनि दलहरुबीच बाँडफाँडको विषय अझै टुंगो लाग्न नसकेको हो ।
राष्ट्रपति भण्डारीले गत आइतबार (पुस ३) साँझ ७ दिनभित्र संसदमा रहेका दुई वा दुईभन्दा बढी दल मिलेर सरकार गठन गर्न आह्वान गरेकी थिइन्।
राष्ट्रपति कार्यालयको सूचनामा भनिएको छ, ‘प्रधानमन्त्री नियुक्त गर्नको लागि नेपालको संविधानको धारा ७६ को उपधारा (१) बमोजिम कुनै पनि दलले स्पष्ट बहुमत प्राप्त गरेको नदेखिएकोले नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधि सभाको सदस्यलाई नेपालको प्रधानमन्त्री नियुक्त गर्नका लागि मिति २०७९/९/१० गते आइतबार १७ः०० बजेभित्र दाबी पेस गर्न सम्माननीय राष्ट्रपतिज्यूबाट आह्वान भएको बेहोरो अनुरोध छ।’
वर्तमान सत्ता गठबन्धनकै दल मिलेर नयाँ सरकार गठन गर्ने कुरा भइरहे पनि कसले नेतृत्व गर्ने भन्ने विषयमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच यो खबर लेख्दासम्म सहमति हुन सकेको छैन। दुवैले आफ्नै नेतृत्वमा सरकार गठन हुनुपर्ने दाबी गरिरहेका छन्।















