संसदीय दलको नेता सर्वसम्मतिमा, मतदान भए पनि देउवाको पक्षमा उभिने निधिको उद्घोष
काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता विमलेन्द्र निधिले शेरबहादुर देउवाकै नेतृत्वमा सरकार बन्ने दाबी गरेका छन् ।
कांग्रेसको नेतृत्वमा गठबन्धन सरकार बन्नु परिस्थितिजन्य निष्कर्ष भएको औंल्याउँदै सोही बाटोमा मुलुक अघि बढ्ने उनले बताए।
‘नेपाली काँग्रेसको नेतृत्वमा गठबन्धनको सरकार बन्छ। र, हाम्रो चाहना पनि हो,’ नेता निधिले भने, ‘अहिलेसम्मको परिस्थितिजन्य निष्कर्ष पनि हो। प्रधानमन्त्री देउवाकै नेतृत्वमा सरकार बन्छ भन्ने हाम्रो ठम्याई हो।’
उनले पार्टी संसदीय दलको नेता चयनमा सर्वसम्मतिको प्रयास हुने बताए।
संसदीय दलमा सर्वसम्मतको अवस्था नभए देउवा नै निर्वाचित हुने नेताहरूको दाबी छ। नेता निधिले त आफू संसदीय दलको निर्वाचन भए देउवाको पक्षमा उभिने समेत प्रस्ट बताएका छन्।














