रवि लामिछानेलाई पार्टी सभापतिबाट हटाउन माग गर्दै आयोगमा उजुरी
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध निर्वाचन आयोगमा उजुरी परेको छ । गैरकानुनी ढंगबाट दल दर्ता गरेको भन्दै खारेजीको माग गर्दै आयोगमा उजुरी परेको हो ।
‘नागरिकताकै विषयलाई लिएर उजुरी परेको छ । पुरानो नागरिकताबाट दल दर्ता गरेर सभापति बन्नु गैरकानुनी हो,’ आयोगमा परेको उजुरीमा भनिएको छ ।
युवराज पौडेलले लामिछानेविरुद्ध आयोगमा उजुरी दिएका हुन् । अमेरिकाको नागरिकता लिएपछि नेपाली नागरिकता त्याग नगरेको र उतको त्याग गरेपछि फेरि पुरानै नागरिकता प्रयोग गरेको आरोपमा आयोगमा उजुरी परेको हो ।
नागरिकताकै विषयमा आयोगले सोधेको स्ष्टीकरणमा लामिछानेले पुरानै नागरिकताबाट पासपोर्ट बनाएको जवाफ दिएपछि उनको नागरिकता विवाद पेचिलो बनेको हो । हाल उनको नागरिकताको विषयमा गृह मन्त्रालयले पनि अनुसन्धान गरिरहेको छ ।