फिलाडेल्फियामा गोली चल्दा चार जनाको मृत्यु, सात घाइते
|
Getting your Trinity Audio player ready...
|
फिलाडेल्फिया । अमेरिकाको उत्तरपूर्वी राज्य पेन्सिलभेनियाको फिलाडेल्फियामा बुधबार दिउँसो र साँझ भएको छुट्टा छुट्टै गोलीकाण्डमा एक किशोर सहित कम्तीमा चार जनाको मृत्यु भएको छ। फरक घटनामा परि सात जना घाइते भएका छन्।
स्थानीय प्रहरीका अनुसार एउटा पार्टीको तयारी गर्दागर्दै गोली चल्दा कम्तीमा चार जना घाइते भएका छन्।
पहिलो गोलीबारी दिउसो करिब पौने दुई बजे एला स्ट्रीटको ३००० ब्लकमा भएको जनाइएको छ। एक बन्दुकधारीले ४५ वर्षीय पुरुषको शरीरको माथिल्लो भागमा सात पटक र ४४ वर्षीय पुरुषको टाउकोमा एक पटक गोली हानेका थिए । घाइते दुवैको मृत्यु भएको हो ।
पहिलो गोलाबारी भएको केही समय पछाडि नै एरी एभिन्यूको १६०० ब्लकमा २० वर्षीय पुरुषलाई शरीरभरि धेरै पटक गोली प्रहार गरिएको जनाइएको छ। उनको घटनास्थलमै मृत्यु भएको घोषणा गरिएको थियो ।
साँझ ६ बजे तिर लाइपर स्ट्रीटको ४६०० ब्लकमा रहेको एउटा अपार्टमेन्टभित्र ४४ वर्षीया महिलालाई गोली प्रहार गरिएको थियो । ती महिलालाई जेफरसन टोरेस्डेल अस्पताल लगिएको थियो जहाँ उनको अवस्था गम्भीर छ। ती महिलालाई गोली प्रहार गर्ने बन्दुकधारीलाई चिन्ने र पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरुबाट हतियार समेत बरामद भएको छ ।
बेलुका सात बजे , एक १९ वर्षीया महिला, उनकी ३४ वर्षीया आमा, एक ६० वर्षीय पुरुष र एक १९ वर्षीय पुरुष सबै मान्टुआको फेयरमाउन्ट एभिन्यूको ३५०० ब्लकमा थिए। सेतो मास्क, कालो लुगा लगाएका र माउन्टेन बाइकमा सवार बन्दुकधारीले गोली चलाएका थिए ।
१९ वर्षीया महिलाको दाहिने खुट्टामा दुई पटक, उनकी ३४ वर्षीया आमाको दाहिने खुट्टामा दुई पटक, ५९ वर्षीय पुरुषको दाहिने खुट्टामा तीन र १९ वर्षीयालाई गोली लागेको थियो ।
चारै जना पीडितहरूलाई पेन प्रेस्बिटेरियन मेडिकल सेन्टर लगियो। बन्दुकधारीले लक्षित गरेको १९ वर्षीय युवकको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । अन्य तीनजना घाईतेको अवस्था स्थिर रहेको छ ।
राति साढे नौ बजे, दक्षिण फिलीको मारभिन स्ट्रीटको २८०० ब्लकमा एक व्यक्तिलाई धेरै पटक गोली हानिएको प्रहरीले जनाएको छ। उनको अस्पतालमा गम्भीर अवस्थामा उपचार भइरहेको छ ।
राति करिब दश बजे, पूर्वी जर्मनटाउनको नर्थ ल्याम्बर्ट स्ट्रिटमा फेरि गोली हानाहान भएको प्रहरीले जनाएको छ। एक १७ वर्षीय युवक र २० वर्षकी एक महिलालाई गोली लागेको जनाइएको छ। दुबैलाई अस्पतालमा भर्ना गरिएको छ ।
प्रहरीका अनुसार फ्र्याङ्कफोर्ड एभिन्यूको ४६०० ब्लकमा ४० वर्षकी अर्की एक महिलाको खुट्टामा पनि गोली लागेको थियो ।
स्थानीय अनलाइन एनबीसी फिलाडेल्फियाले बिहीबार बिहानसम्म, यस वर्ष फिलाडेल्फियामा कम्तिमा एक सय ९३ हत्या भएको आफ्नो रिपोर्टमा लेखेको छ। जुन गत वर्षको सोही समयको तुलनामा सात प्रतिशत कम भएको पनि एनबीसीले लेखेको छ।
सातवटा छुट्टाछुट्टै गोलीकाण्डमा कोही पक्राउ परेका छन् वा छैनन् भन्ने स्पष्ट नभए पनि प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।
अमेरिकामा बन्दुक हिंसा दैनीक बड्दो छ । मंगलवार मात्र टेक्सासको एक प्राथमिक स्कूलमा भएको गोलाबारीमा २१ जनाको ज्यान गएको थियो ।
यस्तै मे १४ तारिकमा न्यूयोर्कको एउटा सुपरमार्केटमा भएको गोलीबारीमा १० जनाले ज्यान गुमाएका थिए।












