मेक्सिकोमा बन्दुकधारीद्वारा ११ जनाको हत्या
मेक्सिको सीटी । मेक्सिकोमा होटल र बारमा भएको नरसंहारमा ११ जनाको हत्या भएको छ। जसमा ८ जना महिला रहेको जनाइएको छ।
एक दर्जन भन्दा बढी बन्दुकधारीहरूले मेक्सिकोको एक होटल र बारमा आक्रमण गरेका थिए।
मध्य मेक्सिकोको सेलाया शहरमा मंगलवार एक मिनेटभन्दा कम समयसम्म चलेको आक्रमणमा ५० भन्दा बढी गोली चलाएको देखिएको स्थानीय सञ्चार माध्यमले जनाएका छन्।
करिब १५ जनामा रहेका बन्दुकधारीले बारमा मोलोटोभ ककटेलहरू पनि प्रहार गरेको जनाइएको छ।
सात महिला र तीन पुरुषलाई घटनास्थलमा मृत घोषित गरिएको थियो । अर्को महिलाको अस्पतालमा मृत्यु भएको जनाइएको छ। सरकारी अधिकारीहरूका अनुसार अन्य पाँचजना घाइते भएका छन् ।
घटनास्थलमा “आपराधिक समूहलाई संकेत गर्ने” सन्देशहरू भएको कार्डबोर्डका टुक्राहरू भेटिएको जनाइएको छ।
आक्रमणपछि बन्दूकधारीहरुले आगो लगाइदिएका थिए । शवहरु टेबल र कुर्चीमा छरिएको अवस्थामा फेला परेका थिए । आक्रमणको उद्देश्य प्रष्ट हुन सकेको छैन् । मेक्सिकोमा आपराधिक समूहले बारम्बार सर्वसाधारणलाई निशाना बनाउने गरेका छन् । लागुऔषध, तस्करीका कारण आपराधिक गतिविधि निरन्तर बढिरहेका छन् ।
















